नेपालगन्ज १९ फागुन : नेपाली काँग्रेस बाँकेको सभापति चयनका लागि दोस्रो चरणको मतदान गर्ने हुने भएकोछ । बिहीबार भएको मतदानमा पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले पचास प्रतिशत बढि मत नपाएपछि शुक्रबार पुनः दोस्रो चरणको मतदान हुने भएको हो ।
सभापतिका कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक पचास प्रतिशत भन्दा धेरै मत नपाएपछि दोस्रो चरणको मतदान हुन लागेको हो । मतदान कार्यक्रम अनुसार शुक्रबार १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।
काँग्रेस बाँकेको नयाँ नेतृत्वका लागि जिल्लाका तीन जना नेताबीच कडा प्रतिस्प्रर्धा भएको थियो ।
संस्थापन (शेरबहादुर देउवा) पक्षबाट २ जना र संस्थापन इतर (शेखर कोइराला) पक्षबाट १ जना गरि तीन जना नेताबीच त्रिपक्षिय कडा प्रतिस्प्रर्धामा थिए । संस्थापन (शेरबहादुर देउवा) पक्षबाट सभापति पदमा सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी निर्वाचन मैदानमा उत्रेका थिए भने संस्थापन इतर (शेखर कोइराला) पक्षबाट एक जना नारायणप्रसाद गौडेल प्रतिस्प्रर्धामा उत्रेका हुन् ।
यही त्रिपक्षीय चुनावी लडाईले बाँके काँग्रेस सभापति पदका लागि सोमबार भएको मतदान नतिजाविहीन बनेपछि पुनः मतदान हुने भएको हो । बिहीबार विहान सवा ९ बजेदेखि भएको मतदानमा कुल एक हजार ४ सय ४५ जनाले मतदान गरेका थिए । बाँकेको मतदाता एक हजार ४ सय ९३ हुन्, जसमा ४८ जना मतादान गर्नै आएनन् । भने २४ मत बदर भएको थियो ।
बिहीबार बेलुका नै सभापतिको मतगणना गर्दा सुरुवातबाटै कोइराला गुटबाट सभापति लडेका गौडेलले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन सकेनन् । कुल १४४५ मतदातामध्ये गौडेलले ५६९ मत पाएर पहिलो भएका छन् ।
दोस्रो स्थान हाँसिल गरेका कुर्मीले ५३८ मत प्राप्त गरेका छन् । भने तेस्रो स्थान हाँसिल गरेका हमालले ३१४ मत प्राप्त गरे । मतगणनाका क्रममा पहिलो कुल ४०० मत गन्दा गौडेल १४ मतले अग्रता लिएका थिए ।
गौडेलले कुल १६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दीद्वय कुर्मीले १४९ मत र सुरेन्द्र हमालले ८१ मत ल्याएका थिए ।
त्यस्तै कुल ८ सय मत गणना हुदाँ गौडेलले तीन मतले पछाडि परेका थिए । गौडेलले ३०९ मत पाउँदा कुर्मीले ३१२ पाए भने हमालले १६५ मत पाएका थिए ।
यस्तै एक हजार मत गणना गर्दा गौडेलले पुनः आफूलाई अग्रता दिलाए । उनी निकटतम प्रतिद्वन्द्वी कुर्मीलाई ११ मतले पछि पारे । यो बेला गौडेलले ३९५ मत पाउँदा कुर्मीले ३८४ पाए भने हमालले २०६ मत प्राप्त गरे ।
निकै नै रोमाञ्चित बनेको मत गणनामा कहिले गौडेल अघि त कहिले कुर्मी भइरहे । मतगणनाको अन्तिम अन्तिमतिर पुग्दै गर्दा कुल एक हजार २ सय १ मत गणना हुदाँ गौडेलले आफ्नो अग्रता कायम गरिरहे । उनले कुल ४६८ मत ल्याउँदा गौडेललाई पछ्याईरहेका कुर्मीले ४५८ मत ल्याए भने हमालको अंकमा खासै परिर्वतन भएन उनले २५५ मत पाए ।
मतगणनाको अन्तिम चरणमा कुल एक हजार ४ सय ४५ मतगणना हुदाँ गौडेलले अग्रता लिदैं कुल ५ सय ६९ मत पाएर पहिलो बने भने कुर्मीले ५ सय ३८ प्राप्त गर्दै दोस्रो भ एभने हमालले कुल ३ सय १४ मतमा चित्त बुझाउनु पर्यो ।
काँग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।