‘निर्वाचन परीणामसंगै गुटगत राजनिती हरायो, विवाद र अल्झन आउनेछैन’
नेपालगन्ज २४ फागुन : नेपाली काँग्रेस बाँकेका नवनिर्वाचित सभापति नारायण प्रसाद गौडेलले काँग्रेसबाट टाढिएकालाई एकताबद्ध गर्दै लाने बताएकाछन् । निर्वाचित भएपछि मङ्गलबार पार्टी कार्यालय नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी सभापति गौडेलले भने–‘नेतृत्वमा आउनका लागि गरिएका प्रतिष्पर्धा र प्रयासहरुलाई बिर्सेर अब सिंगो पार्टी पंक्ति एकजुट भएर सबल, सुदृढ र चलायमान काँग्रेस बनाउन लागिपर्छौं ।
निर्वाचनको परीणामसंगै बाँके काँग्रेसमा कुनै पनि गुट नरहेको बताउँदै उनले भने –‘बाँके काँग्रेसमा अब कुनै गुट छैन, सिंगो काँग्रेस छ । सबैलाई जोड्ने काँग्रस छ ।’ गौडेलले पार्टीलाई गतिशील बनाउन सबैलाई मिलाएर लैजाने दावि गर्दै भने –‘एकताबद्ध भएर हिँड्छौं । हाम्रो कार्यकालसम्म विवाद र अल्झन आउँने छैन ।’
पत्रकारमाझ आफ्नो योजना तथा कार्यक्रमबारे धारणा राख्दै उनले बाँकेका सबै वडा, स्थानीय तह, प्रदेश निर्वाचन र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा काँग्रेसलाई विजयी बनाई जिल्लाभर चारतारे झण्डा फरफराउने गरी आफु नेतृत्वको टिम लाग्ने बताए ।
पार्टीभित्र जोडिन नसकेका तमाम व्यक्तित्वलाई पनि जोडेर संगठित काँग्रेस बनाउने अभिभाराका साथ आफु अहोरात्र खटिने सभापति गौडेलले बताए ।
‘पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा हार जीत स्वभाविक हो, आन्तरिक लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनलाई स्वभाविक प्रक्रिया ठान्दै अब हामी सबै काँग्रेसजन अझ सुदृढ र सबल काँग्रेस बनाउन लाग्नुपर्दछ,’ उनले भने ‘अधिवेशनमा जीत हाँसिल गर्ने र उपविजेता बन्ने सबैलाई समेटेर उर्जावान काँग्रेस बनाउन दृढ संकल्पका साथ अगाडि बढ्नेछु ।’
सुदृढ र संगठित काँग्रेसभित्र मात्रै सबैको उज्ज्वल भविष्य सुरक्षित हुने तथ्यलाई हृदयंगम गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकतावद्ध भई पार्टी निर्माणमा लाग्न गौडेलले आह्वान गरे ।
उनले भने ‘स्वाभीमानी काँग्रेस भएर पार्टी जीवनमा अग्रसर हुने वातावरण सिर्जना गर्नेछु, पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई क्रियाशील बनाउने कार्ययोजनाका साथ मेरो नेतृत्वको जिल्ला कार्यसमिति क्रियाशील रहनेछ ।’
सभापति गौडेलले पार्टीभित्रका विकृती, विसंगती र अराजक गतिविधिलाई निस्तेज पार्दै अनुशासित र मर्यादित संगठन बनाउनतर्फ लाग्ने प्रतिवद्धता पनि जनाएका छन् ।
पार्टीको मुखपत्र प्रकाशन गरी पार्टीका गतिविधिहरु जनतासमक्ष पुर्याउने, पार्टी कार्यालयबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापलाई प्रविधिमैत्री बनाउने, समावेशिताका आधारमा सबैलाई समावेश गरी अवसर प्रदान गर्ने, संविधान पिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने लगायतका योजना आफुहरुसँग रहेको बताए ।
पत्रकार सम्मेलनमा काँग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम केसी, बाँके काँगेस उपसभापतिद्वय गोपाल प्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिवद्वय सुधांशु कोइराला र सञ्जु कुमारी चौधरी, सहसचिव रेनु सिंह ठाकुर, कार्यसमिति सदस्यहरु, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति पोषण केसी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतको उपस्थिती रहेको थियो ।