सत्ता गठबन्धन तोडिदैन, एमसिसीका बारे भ्रम मात्र फैलाइयो : प्रवक्ता कार्की


सत्ता गठबन्धन तोडिदैन, एमसिसीका बारे भ्रम मात्र फैलाइयो : प्रवक्ता कार्की

नेपालगन्ज २९ फागुन : सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता गठबन्धन तीनै तहको निर्वाचन सम्मलाई कायम रहने प्रष्ट्याएका छन् । नेपाल प्रेस युनियन बाँकेले आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्दै उनले भने, ‘यो गठबन्धन तिनै तहको निर्वाचनसम्म हुन्छ । तपाईहरुले भन्नुहोला तालमेल कसरी गर्नु हुन्छ । यसलाई आवश्कताका अनुसार वास्तविकतालाई गम्भीर रुपमा विश्लेषण गरेर हामी अगाडी बढ्छौं । विशेष परिस्थतीमा विशेष उद्देश्यका साथ गबन्धनको निर्माण भएको र यो गठबन्धनले संविधानको रक्षा गरेको मन्त्री कार्कीले ठोकुवा गरे ।

‘यो गठबन्धनले कानूनी शासनको प्रत्याभुती गरेको छ र सुशासन दिने जुन सरकारको दायित्व हो, त्यो सरकारले जनतालाई प्रत्याभुत गरिरहेको छ,’ उनले भने ‘यो गठबन्धन तीनै तहको निर्वाचन सम्म कायम रहन्छ ।’
आसन्न निर्वाचनमा आवश्यकता अनुसार वास्तविकतालाई गम्भीर रुपले विश्लेषण गरेर अगाडी बढ्ने काँग्रेस नेता समेत रहेका कार्कीले बताए ।

गठबन्धन कसैका विरुद्ध नगरिएको प्रष्ट्याउँदै उनले भने, ‘यो कुरा धेरै पटक सम्माननीय प्रधानमन्त्री ज्युले पनि अभिब्यक्त गरिसक्नु भएको छ, यो गठबन्धन मुलुकको एकता र स्थिरताको लागि हो, कसैका विरुद्ध होईन ।’
नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीले कार्यकर्ताको मात्र भावना होइन सिंगो देशका जनताको भावना अनुसार चल्छ । काँग्रेस आफ्नो विधि र विधान अनुसार चल्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

सरकारको ध्यान तीनै तहको निर्वाचन सम्पन्न गर्नमा केन्द्रित रहेको भन्दै कार्कीले भने, ‘समाजलाई एकतावद्ध गराएर तीन वटै तहको निर्वाचनलाई शान्तिपुर्ण र निश्पक्ष रुपमा सम्पन्न गर्ने हो ।’

‘स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तर्फ मुलुक अगाडी बढदैछ । अबको नेपाललाई कसरी अगाडी बढाउने । नेपाली जनताको समृदीको चाहनालाई कसरी पुरा गर्ने भन्ने बारेमा गम्भीर भएर सोच्न म पार्टीका साथीहरुलाई आग्रह गर्दछु, उनले भने,‘अहिलेको आवश्यकता भनेको राजनीति स्थितरतालाई चिर्दै प्रकृतिले जे उपलब्ध गराएको छ, त्यसलाई प्रयोग गरेर देशलाई धनी बनाउने, समृद्ध बनाउनेमा अग्रसर हुनु पर्छ ।’

नेपाल अब चुनावी वर्षमा प्रवेश गरेको बताउँदै मन्त्री कार्कीले वैशाख ३० गते हुने निर्वाचनलाई उत्सवका रुपमा मानेर आफ्नो अभिमत प्रकट गर्न सबै जनतालाई अनुरोध गरे ।

सञ्चारकर्मीको जिज्ञासामा उनले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न नसक्ने बताए ।

‘प्रभावकारी र ब्यवस्थित बनाउने र विकृतीबाट जोगाएर समाजलाई सही सूचना प्रदान गर्नका निम्ति हामी सबैको कर्तब्य हो, एउटा पनि भ्रम नरहोस्, जुन अभिब्यक्ति स्वतन्त्रता संविधानले प्रदत्त गरेको छ, यसलाई कुण्डित गर्ने कुरामा सरकारले कल्पना पनि गर्न सक्दैन,’ उनले भने । सरकारले युटुवलाई नियमन गरेर प्रभावकारी र ब्यवस्थित बनाउन मात्र खोजिएको बताए ।

पत्रकारको जिज्ञासमा जवाफ दिदैं मन्त्री कार्कीले एमसिसी सम्झौताका विषयमा बाहिर अनेक अफवाह र भ्रम फैलाइएको बताए । उनले एमसिसी नेपालको संविधान र कानूनभन्दा माथी नभएको पनि प्रष्ट्याए ।

‘एमसिसी सम्झौता पल्टाएर हेर्नुस् एमसिसी र नेपालको कानून बाझियो भने नेपालको संविधान माथी हुन्छ भनेर स्पष्ट रुपमा लेखिएको छ,’ पत्रकार भेटघाटमा सरकारका प्रवक्ता समेत रहेका कार्कीले भने ।

उनले थपे, ‘यो विशुद्ध आर्थिक सहयोग परियोजना हो । यस परियोजनाको रकम देशको भौतिक पुर्वाधार विकास गर्न, देशको गरिबी निवारण र आर्थिक विकास गर्ने लक्ष्य छ । म पत्रकार साथीहरुलाइ अनुरोध गर्न चाहन्छु । यो जनताका लागि किन आवश्यक छ भनेर तपाईहरुले जनतालाई बुझाउनु प¥यो । यसका बारेमा धेरै भ्रमपुर्ण अभिव्यक्तिले यसलाई नकारात्मक रुपमा लिइयो ।’

कोरोना महामारीका कारण विश्वभरको अर्थतन्त्र कमजोर हुन पुगेको र नेपाल पनि अछुतो रहन नसकेको बताए । ‘कमजोर अर्थतन्त्रमा कोभिडको पनि धेरै ठुलो प्रभाव परेको छ, हाम्रो अर्थतन्त्र श्रीलंकाको जस्तो, पाकिस्तानको जस्तो अवस्थामा पुगेको छैन,’ उनले भने ‘अर्थतन्त्रलाई मजबुद बनाउन सरकारको ध्यान केन्द्रीत छ, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने दिशामा हामी अग्रसर हुनुपर्छ ।’

ब्यापार घाटा कम गर्नका लागि सबैभन्दा सबल आधार बिद्युत निकासी नै भएको बताए । ‘त्यसका लागि हामीलाई ट्रान्समिसन लाईको आवश्यकता छ, एमसिसीबाट प्राप्त ट्रान्समिसन लाईनलाई हामीले पाँच वर्षमा पुरा गर्न सक्यौं र ३० हजारभन्दा बढी मेगावाट बिद्युत क्षमता छ, यसले ब्यापार घाटालाई कम गरेर मुलुकको पुर्वाधार निर्माण र सामाजिक सुरक्षामा हामी खर्च गर्न सक्छौं,’ मन्त्री कार्कीले भने ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, संविधान सभा सदस्य बादशाह कुर्मी, मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, प्रेस युनियनका उपमहासचिव प्रेम केसी, केन्द्रीय सदस्य जयसिंह केसी, काँग्रेस बाँकेका निर्वतमान उपसभापति सुनिलनरसिंह राणा, जिल्ला सचिव सञ्जुकुमारी चौधरी, सहसचिव बिनोद थारु, क्षेत्रीय सभापतिद्वय पोषण केसी र मोहम्मद नक्की खाँ, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतको सहभागिता रहेको थियो ।

युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको भेटघाटमा अध्यक्ष ओलीले सञ्चार मन्त्री कार्कीलाई खादा ओढाएर स्वागत गर्दै बागेश्वरी मन्दिरको फोटो अंकित मायाको चिनो समेत प्रदान गरेका थिए ।