पिएम कपको तयारी तीव्र, अन्तर्राष्ट्रिय ब्राण्ड युक्यानले सहकार्य गर्ने


पिएम कपको तयारी तीव्र, अन्तर्राष्ट्रिय ब्राण्ड युक्यानले सहकार्य गर्ने

नेपालगन्ज १ चैत्र : अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्राण्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच सहकार्य गर्ने सहमति भएको छ । बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताका लागि उक्त सहकार्य गरिन लागेको हो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको मार्केटिङ, ब्राण्डिङ तथा व्यवस्थापनको काम क्रियटिभ गञ्जले गरिरहेको छ । सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जन र क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगातविक्रम शाहबीच सम्झौता भएको छ ।

सिटिएलले प्रतियोगिताका लागि आवश्यक पोशाक उपलब्ध गराउनेछ । घरेलु टिम लुम्बिनी युनाइटेडका लागि पोशाक उपलब्ध गराउनुका साथै आयोजक समिति, रेफ्री अफिसियल र स्वयंसेवकका लागि आवश्यक टिसर्ट प्रदान गर्नेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशी पुरस्कार रहेको प्रधानमन्त्री कप महिला भलिबलसँग जोडिन पाउँदा सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जनले खुशी व्यक्त गरे । क्रियटिभगञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टका चिफ अपरेटिङ अफिसर सौगात विक्रम शाहले युक्यान जस्तो अन्तर्राष्ट्रिय ब्राण्डलाई नेपालगन्जमा भित्राउन पाउनु उपलब्धिमुलक रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

खेलाडीको हस्पिटालिटीदेखि पोशाकसम्म स्तर वृद्धि गर्दै जाने सोंच अनुरुप यसअघि नै कोहलपुरस्थित पाँच तारे होटल सेन्ट्रल प्लाजासँग खेलाडीको आवास तथा भोजनका लागि सम्झौता भइसकेको छ । नीजि क्षेत्रको सहभागिताबिना स्तरीय प्रतियोगिताको निरन्तरतामा कठिनाई हुने भएको हुँदा आयोजकले नीजि क्षेत्रलाई बिशेष जोड दिने गरेको छ ।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप भलिबल नेपालगन्ज रंगशालाको कभर्ड हलमा यही चैत्र १० देखि १४ गतेसम्महुनेछ । विगतका वर्षहरुमा भन्दा यसपटक कोराना महामारीका कारण केहि समय ढिला हुन गएको आयोजक संघका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितालाई नेपालगन्जको चिनारीको रुपमा विकास गर्नका लागि संघले प्रतियोगितालाई दक्षिण एसियाकै नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा स्थापित गराउने लक्ष्य राखेको छ ।

प्रतियोगितामा देशका चर्चित क्लबहरुसँग मित्र राष्ट्र भारतको क्लबले सहभागीता जनाउनेछ । आउने दिनमा थप सहभागी टोलीका बारेमा जानकारी गराइने अध्यक्ष ठकुरीले बताए ।

नेपाली भलिबलमा अलग पहिचान बनाउन सफल प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम कोलकाता इण्डिया, पाँचौमा एपीएफ, छैठौमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेको थियो ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा हुने प्रधानमन्त्री कपको यो आठौं संस्करण हो । प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढिरहेको छ ।

थप समाचार

पिएम कप तयारी तीव्र : सेन्ट्रल प्लाजामा आवास तथा भोजनको व्यवस्थापन गरिने

चैत्र दोस्रो साता पिएम कप, तयारीमा जुट्यो संघ