‘यसपटक जित्ने मान्छेले टिकट पाउँछ, चैतभित्रै उम्मेदवार टुंग्याउँछौ’
नेपालगन्ज ५ चैत्र : नेपाली काँग्रेसका प्रभावशाली नेता एवम पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी प्रवक्ता डाक्टर महनले यस्तो बताएका हुन् ।
पत्रकार भेटघाटनमा बोल्दै प्रवक्ता डा.महतले भने–‘गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैन, तर कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण छ ।’ काँग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यही अनुसार निर्णय लिने बताउँदै प्रवक्ता डाक्टर महतले अगाडी थपे–‘गठबन्धना लागि पार्टीले नीति बनाएर निर्वाचनमा जान्छ, कसरी काँग्रेसले बहुमत सिट जित्छ त्यही नै हाम्रो मुख्य प्राथमिकता रहन्छ ।’
‘हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं,’ महतले भने । आगामी केन्द्रिय कमिटीको बैठकले यसबारे निर्णय लिने उनले बताए ।
प्रवक्ता डाक्टर महतले काँग्रेसले चैतभित्र उम्मेदवारहरुको टुंगो लगाउने दाबी गर्दै भने–‘हामी यसपटक समयमै उम्मेदवारहरुको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो चोटी हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।’
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घरघरमा पुग्न आह्वान गर्दै प्रवक्ता डाक्टर महतले निर्वाचन केन्द्रित काँग्रेसको अभियानका बारेमा प्रष्ट्याउँदै भने–‘अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा नलाग्नुस्, पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलहरुले गरेको दुष्प्रचार र गल्तीहरुको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस् ।’
पत्रकार भेटघाटमा पत्रकारले राखेको जिज्ञासालाई मेटाउँदै उनले भने–‘कम्युनिष्टले फैलाएको भ्रम चिर्ने जिम्मेवारी काँग्रेसको काँधमा आएकोछ । पार्टीको पहुँच विस्तारका लागि यो अभियान महत्वपूर्ण छ ।’
काँग्रेसको अभियान भनेको निर्वाचन जित्ने लक्ष्य हो, यो कुनै क्लब होइन, पार्टी हो । पार्टीको धारणा र अभियानलाई मूर्तरुप दिने भनेकै तल्लो तह नै हो । यो नै पार्टीको आधार स्तम्भ भएकाले यसमा लाग्न पार्टीका नेता तथा कार्यकर्तालाई लाग्न उनले निर्देशन दिए ।
सल्यानमा हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज आएका काँग्रेस पार्टी प्रवक्ता डाक्टर महतले यसपटक जित्ने मान्छेलाई उम्मेदवार बनाइने बताए । ‘मेरो–तेरो या यो गुट–त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ,’ उनले भने ।
‘सत्यको मुख बन्द भए झुठोको थुतुनो चल्छ, यसो हुँदा त्यसैलाई नै सत्य हो भन्ने लाग्छ तर त्यसो होइन’ प्रवक्ता डाक्टर महतले एमसीसीका बारेमा खडा गरिएको भ्रमको पर्दा खुलेको बताउँदै काँग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए ।
उनले एमसीसी नेपालको हितमा भएकाले काँग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं सत्यको पक्षमा खडा हुने गरेको बताए । उनले एमसीसी पारित भएपछि नेपालको ईज्जत र शाख बढेको उल्लेख गरे ।
‘अन्तर्राष्ट्रियस्तरमा खस्किएको शाख र ईज्जत जोगिएको छ, नेपालका कम्युनिष्टहरु आफैं बसेर निर्णय गर्छन्, आफैं सहयोग माग्छन् अनि आफैं विरोध गर्छन्, भन्ने अवस्था बनेको छ । तर, काँग्रेस यसमा दृढ भएर उभिँदा देशको ईज्जत र शाख बढेको छ,’ उनले भने ।
नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभाध्यक्षतामा भएको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले काँग्रेस प्रवक्ता डाक्टर महतलाई खादा ओढ्याएर मायाको चिनो स्वरुप पश्चिम नेपालको शक्तिपिठ बागेश्वरी मन्दिर अंकित तस्विर प्रदान गरेका थिए ।
युनियन बाँकेका सचिव विजय मल्लले सञ्चालन गरेको पत्रकार भेटघाटमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, केन्द्रिय सदस्य जयसिंह केसी, पार्टिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन सदस्य लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो ।