नेपालगन्ज ७ चैत्र : नेपाली राजनीतिका शिखर पुरुष, नेपाली काँग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री स्वर्गीय जीपी अर्थात गिरिजाप्रसाद कोइरालाको योगदानबारे चर्चा गरिएको छ ।
स्वर्गीय कोइरालाको १२ औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस बाँकेले सोमबार आयोजना गरेको विचार गोष्ठीमा बोल्ने वक्ताले उनको योगदानबारे चर्चा गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् राष्ट्रिय सभाका सदस्य युवराज शर्माले स्वर्गीय कोइरालाले नेपालमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तीमा अतुलनीय योगदान गरेको बताए । स्वर्गीय कोइरालाले आफ्नो पार्टीभन्दा माथी उठेर नेपालमा शान्ति स्थापना गर्नमा अगुवाई गरेको स्मरण गरे ।
राणा शासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बनेका थिए । २०५३ सालमा नेपाली काँग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म काँग्रेसको सभापति रहे ।
२०६२/६३ को जनआन्दोलन मार्फत् संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाई गरेका थिए ।
२०६३ साल जेठ ४ गतेको प्रतिनिधिसभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गरेका थिए । कोइरालालाई शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्राधार मानिन्छ । उनकै नेतृत्वमा २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।
काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काँग्रेस बाँकेका निवर्तमान सभापति किरण कोइराला, लुम्बिनी प्रदेश कार्यसमिति सदस्यद्वय जानुका केसी र कृष्णा सापकोटा चौधरी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, महासमिति सदस्य गौरा भट्टराई, क्षेत्र नम्बर–१ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर–२ का सभापति रमेशकुमार गुप्ता, नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, खजुरा गाउँपलिका सभापति रमेश सिजाली र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले स्वर्गीय कोइरालाको योगदानको चर्चा गरेका थिए ।
काँग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्कीले स्वागत गरेको उक्त कार्यक्रम सञ्चालन जिल्ला सह–सचिव विनोदकुमार थारुले गरेका थिए ।