बाँकेमा पनि विश्व पानी दिवस मनाइयो


बाँकेमा पनि विश्व पानी दिवस मनाइयो

नेपालगन्ज ८ चैत्र : प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस नेपालगन्जमा पनि मनाइएकोछ ।

संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय नेपालगन्ज, क्षेत्रीय आयोजना ब्यबस्थापन कार्यालय नेपालगन्ज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको संयुक्त आयोजनामा मङ्गलवार एक कार्यक्रम गरी विश्व पानी दिवस मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख षडानन्द अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्जिनियर रमेश थापा, केमिस्ट रबिकिरण आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा डिभिजन प्रमुख तिलक न्यौपानेले बाँके र बर्दियामा सञ्चालन भएका खानेपानी योजना तथा प्रगतिबारे प्रकाश पारेका थिए । कार्यक्रम संघीय आयोजनाका प्रमुख मनिष कुमार राजको अध्यक्षतामा सम्पन्न भएको असिस्टेन्ट केमिस्ट गोपाल रेग्मीले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो ।

पञ्च तत्वमध्येको एक पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन ।

यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्ममात्र पर्याप्त हुँदैन बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ । पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ ।

पृथ्वीको दुईतिहाइ भाग पानीले ढाकेको छ । तर सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७।५ प्रतिशत भाग ओगटेको छ । २।५ प्रतिशत पानीमात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १।७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०।७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०।०४ प्रतिशत पानीमात्र मानवका लागि पिउन योग्य छ ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै सहर, बजार र गाउँमा खानेपानीको समस्या छ । पाइप प्रणालीबाट ८८ प्रतिशत पानी पुगेको सरकारी दाबी छ ।

संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन नसकेको गुनासो छ । यस्तै विषयमा जनचेतना जगाउँदै पानी दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘अदृश्य भूमिगत पानीलाई दृश्य बनाऔँ’ रहेको छ ।