डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु


डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु

डुडुवा (बाँके) १७ चैत : बाँकेको डुडुवामा टाइफाइड रोगविरुद्ध खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको शुरुवात भएको छ ।

नेपाल सरकारले राष्ट्रिय अभियानका रुपमा यस वर्ष पहिलो पटक टाइफाइड रोगविरुद्ध खोप अभियान शुरु गरेको र अभियान शुरु भएपछि नियमित खोप दिइने भएको छ ।

यसैक्रममा डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा विहीबार आयोजित पालिकास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । अभिमुखीकरणमा टाइफाइड रोगको लक्षण, असर, जोखिम, उपचार लगायतका बारेमा जानकारी गराइएको थियो ।

गाउँपालिकाले यही चैत २३ गतेदेखि २८ गतेसम्म खोप अभियान संचालन गर्न लागेको छ । डुडुवा गाउँपालिकामा १५ महिनादेखि १५ वर्षमुनिका १३ हजार ९५ जना बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । उनका अनुसार ६ वटै वडा अन्र्तगत ३६ वटा खोप केन्द्र स्थापना गरिएको छ भने १२ जना खोप कार्यक्रता र ३६ जना स्वयम्सेवक खटिने छन् ।

Kids Festival 2022
kanti aarogya hospital

डुडुवामा रहेका बालबालिका मध्ये ९५ प्रतिशतलाई खोप दिने लक्ष्य रहेको छ । सामान्य विरामी हुने मानिसमा टाइफाइड रोग चौथो स्थानमा लाग्ने गरेको तथ्यांकले जनाएको छ ।

१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । पालिकास्तरीय अभिमुखीकरणपछि शिक्षक, वडास्तरमा रहेको खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयम्सेविका र खोप लगाउने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइने स्वास्थ्य शाखा सहसंयोजक वीरेन्द्र घलेले बताए ।

अभिमुखीकरणमा वडाध्यक्षहरु सगिर खाँ, पटेश्वरी कुर्मी, परशुराम उपाध्याय, वडासदस्य आमोद तिवारी, रेखा खटिक, कार्यपालिका सदस्य सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य केन्द्रका इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।