‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’


‘निर्वाचनमा एमाले र राप्रपाबीच तालमेल हुने’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालगन्जका मेयर समेत रहेका राप्रपा महामन्त्री राणाबीच भएको भेटवार्ता । तस्विर: मेयर राणाको फेसबुकबाट

नेपालगन्ज १८ चैत्र : कर्णाली प्रदेशका विभिन्न जिल्लामा भएको कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्ज आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणाबीच भेटवार्ता भएकोछ ।

नेपालगन्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओली र नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डाक्टर राणाबीचको यो भेटवार्ताले नेपाली राजनीतिमा गरमागर्र्मी बढेकोछ ।

ओली र राणाबीच भएको भेटवार्तालाई आगामी निर्वाचन लक्षित गठबन्धन बनाउन थालिएको हो भन्ने चर्चा समेत गरिन थालेकोछ । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेट अर्थपूर्ण छ ।

Kids Festival 2022
kanti aarogya hospital

यता मेयर राणाले समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको समेत बताएकाछन् । राणाले देशको समसामयिक राजनीतिक परिस्थिति र आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लगायतका विषयमा छलफल भएको बताए ।

‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा पनि प्रारम्भिक छलफल भएको छ,’ मेयर राणाले भने, ‘एमाले र राप्रपाबीच भेटघाट, छलफल र संवाद गर्दै जाने भन्ने कुरा भएको छ ।’

राणाले काँग्रेससमेत सत्ता घटकसँग गठबन्धन गर्ने पक्षमा गएकाले हामीले पनि गठबन्धन गरेर अघि बढ्न बाधात्मक परिस्थिती सिर्जना भएको बताए । ‘ओलीजी छलफलमा सकारात्मक हुनुहुन्छ । साथीहरुसंग छलफल गर्छु भन्नु भएकोछ । मैले पनि पार्टीमा कुरा राख्छु भनेकोछु ।’

नेपालगन्ज उपमहानगरपालिकाको दुई पटक मेयर जितिसकेका डाक्टर राणा अब मेयरमा नउठ्ने घोषणा गरिसकेकाछन् । उनी अब संघमा चुनाव लड्ने र केन्द्रिय राजनीति गर्ने भन्दै सहयोग गर्न आम मतदातालाई समेत आग्रह गरिरहेकाछन् । त्यही अनुरुप चुनावी रणनीतिमा खटिरहेकाछन् ।

डाक्टर राणाले नेपालगन्जको मेयरको मैदान छाडेपछि अन्य राजनीतिक दललाई सहज भएकोछ । डाक्टर राणा विनाको नेपालगन्जको मेयरको चुनावी मैदानमा नेपाली काँग्रेस बलियो सावित भएकोछ । भने काँग्रेसलाई पछिपछि एमालेले पछ्याइरहेकोछ । यद्यपी गठबन्धनपछिको अवस्थाले मात्र नेपालगन्जको मेयरमा कसले बाजी मार्छ भन्ने निक्र्यौल हुन्छ ।

थप समाचार

धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?