स्थानीय तह निर्वाचन

कोहलपुरको मेयर र उपमेयरमा काँग्रेसकी नेतृद्वय सञ्जु र अञ्जनाको चर्चा


कोहलपुरको मेयर र उपमेयरमा काँग्रेसकी नेतृद्वय सञ्जु र अञ्जनाको चर्चा

नेपालगन्ज २१ चैत्र : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चर्चाले बजार तातेको छ । चोक, चिया पसलमा कुन पार्टीबाट को उम्मेदवार बन्लान्, कसले जित्ला वा को बढी लोकप्रिय छ भन्ने विषयको चर्चा–परिचर्चा बाक्लिएको छ । उम्मेदवारी मनोनयनका लागि एक महिना भन्दा कम समय रहँदा मुख्य दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने आमचासो चुलिदै गएकोछ ।

बाँके सबै पालिकाहरुमा मुख्य दलहरुको चुनावी गतिविधि तीब्र पारिएकोछ । सबैतिर अभियान चलेका छन् । यद्यपी स्थानीय स्तरमा सत्ता गठबन्धन र प्रतिपक्षले समेत अन्य दलहरुसंग गठबन्धन गर्ने सम्भावना त्यत्तिकै रहेकाले चुनावी समीकरण कस्तो बन्छ र कुन पालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ, त्यो हेर्न बाँकी नै छ ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामध्ये यतिबेला नेपालगन्ज र कोहलपुरको चर्चा बाक्लिएकोछ । यसअघि नेपालगन्ज उपमहानगरपालिकामा पार्टीगत आकांक्षी र चर्चा चलेका नेताका बारेमा सेतोखरीले यसअघि प्रकाशन गरेको समाचारमा चर्चा गरिसकेका छौं ।

यही चर्चाकाबीच यतिबेला कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा दुई जनाको नाम चर्चामा आएकोछ । यी दुवैजना महिला नेतृ हुन् त्यो पनि नेपाली काँग्रेसकै ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसो त कोहलपुर नगरपालिकाको मेयरमा पनि काँग्रेससंगै अन्य पार्टीका दर्जन नेताहरुको चर्चा छ । नेपाली काँग्रेसबाट कोहलपुरको मेयरमा सञ्जुकुमारी चौधरी र उपमेयरमा अञ्जना पाण्डेको नाम चुलिएकोछ । सञ्जु हाल कोहलपुर नगरपालिकाकी उमपेयर हुन् भने अञ्जना काँग्रेस लुम्बिनी प्रदेशक कमिटी सदस्य हुन् ।

यसका अलावा यसअघि मेयरमा पराजित भएका काँग्रेसका भानुभक्त भट्टराईसंगै स्थानीय व्यवसायी चिन्तामणी धिताल, स्थानीय नेता बलराम शर्मा, चक्र अधिकारी र पूर्ण आचार्यको समेत चर्चा चलिरहेकोछ ।

उपमेयर सञ्जु चौधरी स्वभाविक दाबेदारका रूपमा मेयरको आकांक्षी छिन् । उपमेयरका रुपमा एक कार्यकाल काम गरेको अनुभव संगालेकी सञ्जु मेयरको स्वभाविक उम्मेदवार भएको बताउँछिन् ।

‘उपमेयरका रूपमा मैले सक्दो जनतासँग नजिक भएर काम गरेँ । अब मेयरका रुपमा सेवा गर्न चाहन्छु, व्यक्तिगत जनाधार पनि छ भन्ने लाग्छ’, बाँके काँग्रेसकी सचिवसमेत रहेकी चौधरीले भनिन्, ‘यो मेरो इच्छा हो । पार्टीले सोचविचार गरेरै निर्णय गर्ला ।’

राजनीतिक परिवारमा हुर्केपनि सञ्जुको राजनीतिक यात्राले गती लिएको धेरै कम समयमा हो । स्थानीय त्रिभुवन माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण हुँदासम्म सक्रिय राजनीतिमा उनको कुनै चासो थिएन । मेधावी छात्राको रुपमा विद्यालयका शिक्षकशिक्षिकाहरुले उनलाई बुझेका छन् । पढाईमा अब्बल रहेकी उनी विद्यालयस्तरसम्म शान्त र अध्ययनशील स्वभाव रहेको उनका सहपाठीहरु बताउँछन् । प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरु जिल्ला बाहिर अध्ययन गर्न जाने गरेकोमा उनले एसएलसी पछिको उच्च शिक्षा अध्ययनका लागि कोहलपुरमै स्थापित शैक्षिक संस्था रोजेकी थिइन् ।

त्यसपछि कोहलपुरको एक निजी विद्यालयमा शिक्षिका बनेर केही समय अध्यापन गराएपश्चात आफ्नो परिवारको स्वामित्वमा रहेको संस्थागत विद्यालयको प्रअ रहेर शैक्षिक गतिविधीमा आपूmलाई समाहित गरेकी थिइन् । उनका बुवा पञ्चायतकालमा रझेना गाविस प्रधान भइसकेकाले साविक रझेना गाविसमा उनका बुवा प्रभावशाली नेताको रुपमा स्थापित थिए ।

व्यवस्थापन संकायमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेकी सञ्जु कानून संकाय अन्र्तगत एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् । २०७४ सालमा उनको क्षमता र राजनीतिक चेतनाबारे जानकार स्थानीय काँग्रेस नेतृत्वले स्थानीय तहको निर्वाचनमा उनलाई उप–प्रमुखको रुपमा अगाडी बढाएपछि सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आयो अन्ततः सञ्जु लोकप्रिय मत सहित उपप्रमुखमा निर्वाचित भइन । अहिले उनी मेयरको दावि गरिरहेकीछन् ।

उपमेयरमा अञ्जना

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेकी युवा नेतृ पाण्डेको उपमेयरमा बढी चर्चा छ । नेपाल बिद्यार्थी संघ (नेबिसंघ) को राजनीति गरेकी नेतृ पाण्डे काँग्रेसको उदियमान नेताका रुपमा परिचित छिन् । नेबिसंघबाट बाल कुमारी नर्सिङ क्याम्पस चितवनमा स्वतन्त्र बिद्यार्थी युनियनको सभापति समेत भइसकेकी नेतृ पाण्डेले नेबिसंघको विभिन्न पदमा बसेर कार्य गरिसकेकी छिन् ।

काँग्रेसी पारिवारिक पृष्ठभूमीकी पाण्डे कोहलपुरमा लोकप्रिय रहेको स्थानीयहरु बताउँछन् । मिलनसार स्वभावकी पाण्डेले उपप्रमुख पदमा उठ्न स्थानीय जनताले आफूलाई धेरै दबाब दिएको बताउँदै पार्टीले आफूलाई नै उपयुक्त उम्मेदवार ठानेर टिकट दिए कोहलपुरको उपप्रमुख पदका लागि चुनाव लड्न पछि नहट्ने बताइन् ।

तर, सत्ता साझेदार दलहरुबीच कोहलपुरमा पनि चुनावी तालमेल हुने सम्भावना प्रबल रहेकाले कसले प्रमुख उपप्रमुख पाउँछ, त्यो आधारमा पनि उम्मेदवारको टुंगो लाग्ने देखिन्छ । मुख्य दलहरु एक्लाएक्लै लड्दा एउटा परिस्थिति र गठबन्धन बने अर्को परिस्थिति बन्ने भएकाले पहिले गठबन्धनको टुंगो लागेपछि को उम्मेदवार बन्ने भन्ने विषयले प्रवेश पाउने अवस्था आउँछ । यद्यपी कोहलपुरमा काँग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा रहनेछ ।

थप समाचार

धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?

सञ्जु उमेरले कान्छी तर, चुनावी प्रतिस्पर्धामा बलियो उम्मेदवार