नेपालगन्ज २१ चैत्र : आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुको चर्चाले बजार तातेको छ । चोक, चिया पसलमा कुन पार्टीबाट को उम्मेदवार बन्लान्, कसले जित्ला वा को बढी लोकप्रिय छ भन्ने विषयको चर्चा–परिचर्चा बाक्लिएको छ । उम्मेदवारी मनोनयनका लागि एक महिना भन्दा कम समय रहँदा मुख्य दलहरुले कसलाई उम्मेदवार बनाउँछन् भन्ने आमचासो चुलिदै गएकोछ ।
बाँके सबै पालिकाहरुमा मुख्य दलहरुको चुनावी गतिविधि तीब्र पारिएकोछ । सबैतिर अभियान चलेका छन् । यद्यपी स्थानीय स्तरमा सत्ता गठबन्धन र प्रतिपक्षले समेत अन्य दलहरुसंग गठबन्धन गर्ने सम्भावना त्यत्तिकै रहेकाले चुनावी समीकरण कस्तो बन्छ र कुन पालिकामा कुन पार्टीको उम्मेदवार हुन्छ, त्यो हेर्न बाँकी नै छ ।
बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकामध्ये यतिबेला नेपालगन्ज र कोहलपुरको चर्चा बाक्लिएकोछ । यसअघि नेपालगन्ज उपमहानगरपालिकामा पार्टीगत आकांक्षी र चर्चा चलेका नेताका बारेमा सेतोखरीले यसअघि प्रकाशन गरेको समाचारमा चर्चा गरिसकेका छौं ।
यही चर्चाकाबीच यतिबेला कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा दुई जनाको नाम चर्चामा आएकोछ । यी दुवैजना महिला नेतृ हुन् त्यो पनि नेपाली काँग्रेसकै ।
त्यसो त कोहलपुर नगरपालिकाको मेयरमा पनि काँग्रेससंगै अन्य पार्टीका दर्जन नेताहरुको चर्चा छ । नेपाली काँग्रेसबाट कोहलपुरको मेयरमा सञ्जुकुमारी चौधरी र उपमेयरमा अञ्जना पाण्डेको नाम चुलिएकोछ । सञ्जु हाल कोहलपुर नगरपालिकाकी उमपेयर हुन् भने अञ्जना काँग्रेस लुम्बिनी प्रदेशक कमिटी सदस्य हुन् ।
यसका अलावा यसअघि मेयरमा पराजित भएका काँग्रेसका भानुभक्त भट्टराईसंगै स्थानीय व्यवसायी चिन्तामणी धिताल, स्थानीय नेता बलराम शर्मा, चक्र अधिकारी र पूर्ण आचार्यको समेत चर्चा चलिरहेकोछ ।
उपमेयर सञ्जु चौधरी स्वभाविक दाबेदारका रूपमा मेयरको आकांक्षी छिन् । उपमेयरका रुपमा एक कार्यकाल काम गरेको अनुभव संगालेकी सञ्जु मेयरको स्वभाविक उम्मेदवार भएको बताउँछिन् ।
‘उपमेयरका रूपमा मैले सक्दो जनतासँग नजिक भएर काम गरेँ । अब मेयरका रुपमा सेवा गर्न चाहन्छु, व्यक्तिगत जनाधार पनि छ भन्ने लाग्छ’, बाँके काँग्रेसकी सचिवसमेत रहेकी चौधरीले भनिन्, ‘यो मेरो इच्छा हो । पार्टीले सोचविचार गरेरै निर्णय गर्ला ।’
राजनीतिक परिवारमा हुर्केपनि सञ्जुको राजनीतिक यात्राले गती लिएको धेरै कम समयमा हो । स्थानीय त्रिभुवन माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण हुँदासम्म सक्रिय राजनीतिमा उनको कुनै चासो थिएन । मेधावी छात्राको रुपमा विद्यालयका शिक्षकशिक्षिकाहरुले उनलाई बुझेका छन् । पढाईमा अब्बल रहेकी उनी विद्यालयस्तरसम्म शान्त र अध्ययनशील स्वभाव रहेको उनका सहपाठीहरु बताउँछन् । प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थीहरु जिल्ला बाहिर अध्ययन गर्न जाने गरेकोमा उनले एसएलसी पछिको उच्च शिक्षा अध्ययनका लागि कोहलपुरमै स्थापित शैक्षिक संस्था रोजेकी थिइन् ।
त्यसपछि कोहलपुरको एक निजी विद्यालयमा शिक्षिका बनेर केही समय अध्यापन गराएपश्चात आफ्नो परिवारको स्वामित्वमा रहेको संस्थागत विद्यालयको प्रअ रहेर शैक्षिक गतिविधीमा आपूmलाई समाहित गरेकी थिइन् । उनका बुवा पञ्चायतकालमा रझेना गाविस प्रधान भइसकेकाले साविक रझेना गाविसमा उनका बुवा प्रभावशाली नेताको रुपमा स्थापित थिए ।
व्यवस्थापन संकायमा स्नाकोत्तर सम्मको अध्ययन पुरा गरेकी सञ्जु कानून संकाय अन्र्तगत एलएलबी तेस्रो वर्षमा अध्ययनरत छिन् । २०७४ सालमा उनको क्षमता र राजनीतिक चेतनाबारे जानकार स्थानीय काँग्रेस नेतृत्वले स्थानीय तहको निर्वाचनमा उनलाई उप–प्रमुखको रुपमा अगाडी बढाएपछि सबै क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आयो अन्ततः सञ्जु लोकप्रिय मत सहित उपप्रमुखमा निर्वाचित भइन । अहिले उनी मेयरको दावि गरिरहेकीछन् ।
उपमेयरमा अञ्जना
नेपाली काँग्रेस लुम्बिनी प्रदेश कमिटी सदस्य समेत रहेकी युवा नेतृ पाण्डेको उपमेयरमा बढी चर्चा छ । नेपाल बिद्यार्थी संघ (नेबिसंघ) को राजनीति गरेकी नेतृ पाण्डे काँग्रेसको उदियमान नेताका रुपमा परिचित छिन् । नेबिसंघबाट बाल कुमारी नर्सिङ क्याम्पस चितवनमा स्वतन्त्र बिद्यार्थी युनियनको सभापति समेत भइसकेकी नेतृ पाण्डेले नेबिसंघको विभिन्न पदमा बसेर कार्य गरिसकेकी छिन् ।
काँग्रेसी पारिवारिक पृष्ठभूमीकी पाण्डे कोहलपुरमा लोकप्रिय रहेको स्थानीयहरु बताउँछन् । मिलनसार स्वभावकी पाण्डेले उपप्रमुख पदमा उठ्न स्थानीय जनताले आफूलाई धेरै दबाब दिएको बताउँदै पार्टीले आफूलाई नै उपयुक्त उम्मेदवार ठानेर टिकट दिए कोहलपुरको उपप्रमुख पदका लागि चुनाव लड्न पछि नहट्ने बताइन् ।
तर, सत्ता साझेदार दलहरुबीच कोहलपुरमा पनि चुनावी तालमेल हुने सम्भावना प्रबल रहेकाले कसले प्रमुख उपप्रमुख पाउँछ, त्यो आधारमा पनि उम्मेदवारको टुंगो लाग्ने देखिन्छ । मुख्य दलहरु एक्लाएक्लै लड्दा एउटा परिस्थिति र गठबन्धन बने अर्को परिस्थिति बन्ने भएकाले पहिले गठबन्धनको टुंगो लागेपछि को उम्मेदवार बन्ने भन्ने विषयले प्रवेश पाउने अवस्था आउँछ । यद्यपी कोहलपुरमा काँग्रेस र एमालेको मुख्य प्रतिस्पर्धा रहनेछ ।
थप समाचार
धवलले मैदान छोडेपछि को बन्छ नेपालगन्जको मेयर ?
सञ्जु उमेरले कान्छी तर, चुनावी प्रतिस्पर्धामा बलियो उम्मेदवार
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?