डुडुवा (बाँके) २५ चैत्र : बाँके डुडुवा गाउँपालिकाले पहिलो पटक सबै नागरिकहरुको स्वास्थ्य वीमा गर्न शुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा अभियान अन्र्तगत हरेक नागरिकको वीमा गरि बढीमा दुई लाखसम्मको उपचार सेवा प्रदान गरिने छ ।
प्रति परिवार रु ७०० का दरले परिवारिक संख्याका आधारमा विमा गरिनेछ । गाउँपालिकाले लिएको लक्ष्य अनुसार हाल ५० प्रतिशत गाउँपालिकाले सहयोग गर्ने र ५० प्रतिशत रकम स्वयम् विमाकर्तालाई बुझाउनुपर्ने डुडुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताए । प्रतिपरिवारले एक वर्षमा रु २० हजार बराबरको निःशुल्क औषधी उपचार सेवा पाउनेछ ।
वीमाका लागि डुडुवा वडा नम्बर– १ देखि ६ वडासम्म ६ जनालाई वीमा सहायकमार्फत नागरिकहरुको विवरण संकलन गरि वीमा गर्नका लागि ति कर्मचारीलाई इन्ड्रोवाइट मोबाइल सेट, झोला तथा स्टेश्नरीका सामाग्री हस्तान्तरण गरिएको छ ।
सामाग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीेले डुडुवामा बसोबास गर्ने अधिकास नागरिकको आर्थिक अवस्था कमजोर भएकाले विरामी भएपछि उपचार गर्न नसक्ने जनताको विमामार्फत उपचार सेवा प्रदान गर्न सहज हुने बताए ।
उनले डुडुवाका नागरिकको घरघरमा सेवा प्रदान गर्ने लक्ष्य अनुसार कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन भनेर यो अभियान शुरु गरेको र गाउँपालिकामै विशेषज्ञ सेवामार्फत उपचार गर्ने बताए ।
गाउँपालिकाले ७० वर्ष पुगेका जेष्ठ नागरिक तथा अपांगता भएकाहरुको निशुल्क विमा गरेको छ भने अन्य मानिसहरुको ५० प्रतिशत सहयोग गरेको छ । पहिलो पटक डुडुवाले स्वास्थ्य वीमा कार्यक्रम ल्याएको छ ।
डुडुवाले जेष्ठ नागरिकहरुका लागि छुटटै अस्पताल निमार्ण गरिरहेको छ । उक्त अस्पतालमाफर्त विशेषज्ञ चिकित्सक, ल्याब, एक्सरे सेवा, फार्मेसी लगायतको सेवा प्रदान गर्ने गरि तयारी भईरहेको गाउँपालिकाले जनाएको छ ।