नेपालगन्ज ७ बैशाख : लोकतन्त्रवादी कानून ब्यवसायीको संगठन डेमेक्रेटिक लयर्स एसोसिएसन (डिएलए) बाँकेमा सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएकोछ ।
डिएलए बाँकेको आगामी नेतृत्वका लागि सर्वसम्मत नेतृत्व चयनका लागि बुधबार मध्यान्हसम्म गरिएको प्रयास असफल बनेको हो । सर्वसम्मत नेतृत्व चयनका लागि गरिएको प्रयास असफल भएपछि निर्वाचन हुने भएको हो ।
सर्वसम्मत नेतृत्व चयनका लागि सहजीकरण गर्न वरिष्ठ अधिवक्ता भोलासिंह हमालको संयोजकत्वमा एक समिति बनाइएको छ । उक्त समितिको सदस्यमा अधिवक्ता प्रह्लाद कार्की, प्रमोदबहादुर श्रेष्ठ, गोपीचन्द्र वर्णवाल र लोकबहादुर शाह सदस्य छन् । तर, उक्त समितिले सहमती जुटाउन सकेन ।
गत चैत २६ गते डिएलए बाँकेले चुनावी आफ्नो अधिवेशन सम्पन्न गरेको थियो । विगत तीन वर्षदेखी डिएलए बाँकेको नेतृत्व गर्दै आएका अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली सोही दिनदेखी निर्वतमान बन्न पुगे ।
नेतृत्व चयनको आन्तरिक प्रतिस्पर्धालाई जवरजस्ती अवरोध गर्ने काम भएपछि लामो समयदेखि डिएलए बाँके नेतृत्व विहिनछ ।
आगामी नयाँ कार्यकालका लागि डिएलए बाँकेको अध्यक्षमा सुनीलकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष ईश्वरीप्रसाद ज्ञवाली, शिव श्रेष्ठ, बलबहादुर चन्द, उदयराज बर्मा र जनकबहादुर शाहीले आकांक्षा राखेका छन् ।
श्रेष्ठ नेपाल बार एसोशियसनका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा तत्कालिन पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । यस्तै डिएलए बाँकेका निर्वतमान अध्यक्ष रहेका ज्ञवाली पुनरावेदन बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् ।
यसैगरी शिवकुमार उच्च अदालत बार नेपालगन्जका वर्तमान अध्यक्ष तथा चन्द उच्च अदालत बार नेपालगन्जका पुर्वअध्यक्ष हुन् । त्यस्तै बर्मा जिल्ला बार बाँकेका पुर्वअध्यक्ष र शाही जिल्ला बार बाँकेका वर्तमान अध्यक्ष हुन् ।
स्रोतका अनुसार डिएलए बाँकेको उपाध्यक्षमा कर्णबहादुर केसी आकांक्षी देखिएका छन् ।
यस्तै सचिवमा प्रभाकर भट्टराईसहित पूनम श्रेष्ठ, गोपाल गिरी, राकेशकुमार सोनी र युगबहादुर गुरुङले आकांक्षा राखेका छन् ।
यसैगरी कोषाध्यक्षमा मोहम्मद अयुव सिद्धिकी, सतिशचन्द्र थारु, मोहम्मद रिजवान अहमद मिर्जा र यशोदा कुमारी उपाध्याय तथा सदस्यमा विश्वजीत तिवारी, केवल सिंह थारु, राघव कार्की, श्रीकृष्ण थारु, देबीमाया खत्री, मिरा ददेल लगायतको दाबी रहेको छ ।
तर, सहजीकरण समितिले डिएलएको नयाँ कार्यसमितिका लागि अध्यक्षमा जनकबहादुर शाही, उपाध्यक्षमा निर्दिप कुमार श्रेष्ठ, सचिवमा राकेश सोनी र कोषाध्यक्षमा रिजवान अहमद मिर्जालाई सिफारिस गरेकोछ ।
यस्तै सदस्यहरुमा विश्वजीत तिवारी, चित्रबहादुर शाही, हरिषचन्द्र सिजापति, केवलसिंह थारु, शतिष अधिकारी, पुनम श्रेष्ठ, प्रभाकर भट्टराई, यशोदा उपाध्याय र जयप्रसाद पौडेललाई सिफारिस गरेकोछ ।
‘डिएलए बाँकेका अधिकांस सदस्य नेतृत्व परिर्वतनको पक्षमा उभिएका छन् । उनीहरुले कुनैपनि हालतमा नेतृत्व परिवर्तन हुनुपर्ने, एउटै ब्यक्ति बारम्बार दोहोरिन नहुने अडान राख्दै आएका छन् । भने अध्यक्ष पदका अधिकांस आकांक्षीहरु सुनिल कुमार श्रेष्ठलाई अध्यक्षमा छाड्न तयार देखिएका छन् । तर, निर्वतमान अध्यक्ष ज्ञवालीलाई दोहोरिने अडानमा छन् । उहाँकै विषयमा सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचनमा जानुप¥यो ।’ स्रोतले सेतोखरीलाई बतायो ।
योसंगै डिएलए बाँकेले नयाँ नेतृत्व छान्न निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीले बुधबार निर्वाचन कार्यक्रम प्रकाशित गरेका हुन् ।
निर्वाचन कार्यक्रम अनुसार बुधबार दिउँसो ३ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । यस्तै बुधबर अपरान्ह ४ बजे दावी विरोधपछि संसोधित मतदाता नामावली प्रकाशन भएको छ ।
यसैगरी बैशाख ८ गते बिहीबार बिहान १० बजेदेखी १२ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता, सोही दिन दिउँसो १२ः३० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो १२ः३० बजेदेखी १ः३० बजेसम्म उम्मेदवारीमाथी संसोधन दावी विरोध गरिनेछ ।
त्यस्तै सोही दिन दिउँसो १ः३० बजे दावी, विरोधपछिको उम्मेदवारको संसोधित नामावली प्रकाशन, दिउँसो १ः३० बजेदेखी ४ः३० बजेसम्म उम्मेदवारी फिर्ता, दिउँसो ४ः३० बजेदेखी साँझ ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, बैशाख १० गते बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म मतदान/मतदान पश्चात मतगणना र मत परिणाम घोषणा गरिने प्रमुख निर्वाचन अधिकृत रेग्मीले उल्लेख गरेका छन् । निर्वाचन सम्बन्धी सम्पूर्ण कामहरु बाँके जिल्ला बार भवनमा सम्पन्न हुने उनले बताए ।
थप समाचार
ज्ञवाली दोहोरिने अडानमा, अधिकांस कानून ब्यवसायी नेतृत्व परिर्वतनको पक्षमा