सत्ता गठबन्धन सहमतिको नेपालगन्जमा कम्पन : माओबादी केन्द्र र जसपाले भन्यो निर्णय नसच्चाए विद्रोह गर्छौं


सत्ता गठबन्धन सहमतिको नेपालगन्जमा कम्पन : माओबादी केन्द्र र जसपाले भन्यो निर्णय नसच्चाए विद्रोह गर्छौं

नेपालगन्ज ८ बैशाखः आसन्न स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनको केन्द्रिय निर्णयप्रति जनता समाजबादी पार्टी(जसपा) बाँके र नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिले आपत्ति जनाएका छन् ।

केन्द्रिय निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिकाको मेयर नेपाली काँग्रेस र उपमेयर जसपाको भागमा परेकोछ । योसंगै जसपा र माओबादी केन्द्रले असन्तुष्टि जनाएका हुन् ।

जसपाले कुनै पनि हालतमा मेयर नछोड्ने बरु एक्लै लड्ने चेतावनी समेत दिएकोछ । जसपाका जिल्ला सचिव राजेन्द्र विकले नेपालगन्ज उपमहानगरपालिकामा जसपा धेरै अघि बढिसकेको भन्दै कुनै पनि हालतमा गठबन्धनको निर्णय नमान्ने बताए । उनले अर्कै चुनाव चिन्ह लिएर भएपनि चुनाव लड्ने चेतावनी दिए ।

जसपाले नेपालगन्ज उपमहानगरपालिका, जानकी, डुडवा र नरैनापुर गाउँपालिकामा एक्लै चुनाव लड्ने बताउँदै सुरुदेखि नै गठबन्धनको बैठकबाट बाहिरिएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

यता जसपा नेपालगन्ज उपमहानगर अध्यक्ष सर्बनकुमार यादवले पाँच दलिय गठबन्धनको निर्णयलाई जसपा नेपालगन्ज उपमहानगरपालिका समिति स्वीकार नगर्ने बताएका छन् । निर्णय नसच्याए पार्टीकै दुर्भाग्य हुने उनको चेतावनी छ ।

यस्तै जसपाका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका बाँके क्षेत्र नम्बर–२ का सांसद मोहम्मद ईस्तियाक राईले केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने बताएका छन् । पाँच दलिय गठबन्धनको निर्णय आधिकारिक रुपमा प्राप्त नभएकोले यसबारेमा धेरै बोल्न नमिल्ने उनको भनाई छ ।

यसैबगरि पाँच दलीय गठबन्धनले गरेको निर्णयप्रति नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगर समितिले बुधबार असहमती जनाइसकेकोछ ।

केन्द्रिय गठबन्धन कार्यदलले गरेको निर्णय आफुहरुका लागि अब्यवहारिक र अपमानजनक भएकोले मैत्रीपूर्ण एकल प्रतिस्पर्धा गर्ने वातावरण सृजना गर्न माओबादी केन्द्र नेपालगन्जले माग गरेको छ । अन्यथा पार्टी आन्दोलन र जनताप्रति घोर अन्याय हुने चेतावनी दिएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रको ४ वटा वडा अध्यक्षसहित सम्मानजनक तेस्रो स्थान रहेको र पछिल्लो समयमा पार्टीको संगठनको बलियो उपस्थिती रहेको माओबादी केन्द्रले उल्लेख गरेको छ । माओबादी केन्द्र नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाही र सचिव प्रेमबहादुर शाहले प्रेस विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार सम्पन्न बैठकले भागबण्डामा टुंगो लगाएको थियो । पाँच दलिय सहमती अनुसार काँग्रेसको भागमा नेपालगन्ज उपमहानगरपालिका प्रमुख र जनता समाजवादी पार्टी(जसपा)लाई उपप्रमुखको भागबण्डा परेको छ ।

थप समाचार

सत्ता गठबन्धनमा सहमति : नेपालगन्ज, तुलसीपुर र धनगढीको मेयर काँग्रेसको पोल्टामा