File Photo
नेपालगन्ज ९ बैशाख : केहीदिनदेखि भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि बाँकेको सीमानाका जमुनाह क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ ।
बढ्दो कोरोना संक्रमणका बीच आसन्न स्थानीय तह निर्वाचनका लागि भन्दै भारतबाट नेपाल फर्किनेहरुको संख्या समेत बढेकोछ । कोरोना संक्रमण बढिरहेको भारतका विभिन्न स्थानबाट नेपाल आउनेहरुको सीमानाकामा उच्च सर्तकता अपनाउँदै स्वास्थ्य जाँचलाई कडाई गरिन थालेको हो ।
जमनाह नाकामा राखिएको हेल्थ डेस्कमा दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिरहेको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरञ्जिवि ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार गत चैत महिनामा ६ हजार ४ सयको एन्टिजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पोजेटिभ देखिएका थियो ।
सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ । ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौँ,’ उनले भने ।
खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको उनले बताए ।
स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन गरिएको बताए ।
यसअघि कोभिडको पहिलो र दोस्रो लहरमा संक्रमण बढ्दा जिल्लामा थुप्रैको मृत्यु भएको थियो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार हाल कोभिड संक्रमणको विरामी अस्पतालमा भर्ना शून्य भएपनि स्वास्थ्य सर्तकतामा उच्च प्राथमिकता दिएको बताए ।
उनका अनुसार बाँकेका एक जना मात्र कोभिडको सकृय विरामी रहेको छ । ती संक्रमित होम आइसोलेसनमा छन् र उनको स्वास्थ्य अवस्था सामान्य छ । कोभिडको अवस्थालाई मध्यनजर गर्दै यसअघिको निर्देशन बमोजिमका गतिविधि नियमितरुपमा भइरहेको उनले बताए ।