स्थानीय तह निर्वाचन

बाँकेका ७७ जनाले उम्मेदवारी फिर्ता लिए

नेपालगन्जका तीन जनाको उम्मेदवारी रद्द


बाँकेका ७७ जनाले उम्मेदवारी फिर्ता लिए

नेपालगन्ज १६ वैशाखः बाँकेका ८ वटा स्थानीय तहबाट ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएकाछन् । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा बाँकेका विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ७७ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्मेदवारी फिर्ता लिनेमा नेपालगन्ज उपमहानगरपालिकाका १४ जना, कोहलपुर नगरपालिकाका १६ जना, राप्तीसोनारीका १२ जना, खजुराका १२ जना, डुडुवाका ५ जना, जानकीका ७ जना, बैजनाथका ७ जना र नरैनापुर गाउँपालिकाका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत बाशुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउपालिकाबाट अध्यक्षमा १ जना, उपाध्यक्ष १ जना, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मदवारी फिर्ता लिएका छन् । फिर्ता लिने सबै स्वतन्त्र उम्मेदवार हुन् ।

यस्तै बैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाका अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । जसमा अध्यक्ष १ जना, वडा अध्यक्ष ४ जना र २ जना वडा सदस्यले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडभरीका उपाध्यक्ष १ जना, वडाअध्यक्ष ४ जना गरि ५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार नेपालगन्जका १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उनका अनुसार मेयरमा १ जना, उपमेयरमा १ जना, वडा अध्यक्षमा ६ जना, सदस्य महिला ३ जना, दलित महिला सदस्य १ जना र खुला सदस्य २ जना गरी १४ जना रहेका छन् ।

नेपालगन्जबाट उम्मेदवारी फिर्ता लिने उम्मेदवार मध्ये ६ जना स्वतन्त्र रहेका छन् भने बाँकी मेयर राजमोबाट, उपमेयर माओवादी केन्द्रबाट, वडा अध्यक्ष र सदस्यहरु एकीकृत समाजबादी, लोकतान्त्रिक समाजबादी पार्टी नेपालबाट रहेका छन् ।

उता कोहलपुर नगरपालिकामा एक जना प्रमुख, ५ जना वडाध्यक्ष र अन्य सबै वडा सदस्य गरि १६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले जानकारी दिए ।

यसैगरी राप्तीसोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएकाछन् । निर्वाचन अधिकृत टोपेन्द्र केसीका अनुसार ३ जना वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार ३ जना वडाध्यक्ष र ९ वडा सदस्य गरि १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए ।

जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागि भएका छन् ।

नेपालगन्जमा तीन जनाको उम्मेदवारी रद्द

नेपालगन्ज उपमहानगरपालिकामा मनोनयन दर्ता गराएका तीन जनाको उम्मेदवारी रद्द भएको छ ।

नेपालगन्ज उपमहानगरको–१७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, उपमहानगरपालिका–३ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नम्बर–७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले जानकारी दिए ।

पाठक २०७४ सालको निर्वाचनमा सोही वडाबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा विजयी भएका थिए । मनोनयन हुनुअघि मात्रै उनी माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।

बैंकले कालोसूचीमा राखेका कारण एमालेको तर्फबाट मनोनयन गरेका पाठकको उम्मेदवारी रद्द भएको सहायक निर्वाचन अधिकृत चौलागाइले जानकारी दिए ।

यसैगरी उपमहानगरपालिका वडा नम्बर–३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निस्सा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

थप समाचार

बाँकेका ८ पालिका र ८१ वडामा २ हजार बढिको उम्मेदवारी दर्ता