जमुनाह हेल्थ डेस्कलाई थप व्यवस्थित गरिने


जमुनाह हेल्थ डेस्कलाई थप व्यवस्थित गरिने

नेपालगन्ज ९ जेठ : नेपालगन्जको जमुनाह स्थित हेल्थ डेस्कलाई थप व्यवस्थित गरिने भएकोछ । कोरोना भाइरस संक्रमणको पहिलो लहर ताका स्थापना गरिएको हेल्थ डेस्कबाट कोभिडसंगै मलेरिया र एचआइभी लगायतका संक्रामक रोगको परीक्षण गरिदैँ आएकोछ ।

स्वास्थ्य सेवा विभाग सरुवा रोग नियन्त्रण महाशाखाले सोमबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा उक्त कुरा बताइएको हो । कोरोना संक्रमणको जोखिमका बेला उपलब्ध जनशक्ति तथा सीमित स्रोतसाधनबाट उदाहरणीय कार्य गरेको भन्दै महाशाखाले थप ब्यवस्थित गर्न लागेको हो ।

यसका लागि सोमबार नेपाल–भारत सीमा नाका जमुनाहमा रहेको हेल्थ डेस्कमा ‘सिमुलेसन एक्सरसाईज’ अर्थात ‘नाटकीय अभ्यास’ समेत गरिएकोछ । सोक्रममा भारतबाट आएका ब्यक्तिको स्वास्थ्य परीक्षण, ट्राभल हिस्टोरी लगायतको लगत तयार पारि उचित व्यवस्थापन गरियो ।

‘सिमुलेसन एक्सरसाईज’ ले हेल्थ डेस्कमा कार्यरत जनशक्ति र उपलब्ध स्रोतसाधनको समुचित व्यवस्थापन कसरी गर्न सकिन्छ, के के कुरामा ध्यायन दिनुपर्ने लगायतका विषयमा ब्यापक कसरत गरिएको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले यो कार्यले स्थापना गरिएको संरचनाले भविष्यमा स्वास्थ्य सम्बन्धि जोखिममा उपयोगी हुने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले हेल्थ डेस्कमार्फत काम गर्दै जाँदा भएका कमीकमजोरीलाई समेत औल्याउने र सुझाव समेत आएकोले अझ व्यवस्थित र सरल बनाउन मद्दत पुग्ने बताए ।

सो क्रममा देशभर रहेका हेल्थ डेस्कको अवस्था र बाँकेको जमुनाहले गरेको गतिविधिका विषयमा डाक्टर अमित पोखरेलले प्रकाश पारेका थिए । उनका अनुसार चैत्र ६ गते २०७७ देखि हालसम्म जमुनाह हेल्थ डेस्कबाट ११ लाख ८० हजार ७४२ जनाको स्क्रिनिङ्ग गर्न सफल भएको भन्दै बधाई दिएका थिए । भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आशिष श्रेष्ठले ‘सिमुलेसन एक्सरसाईज’का बारेमा प्रकाश पार्दै यसको उपयोगिता र उद्देश्य प्रष्ट्याएका थिए ।

जमुनाह नाका स्थित हेल्थ डेस्कबाट हालसम्म एन्टिजेनमार्फत ४ लाख ९९ हजार ४१४ जनाको परीक्षण गर्दा १२ हजार ११९ जना पोजेटिभ पाइएको थियो ।

गत फाल्गुन २८ गतेसम्मको तथ्यांक अनुसार जमुनाह नाकामा रहेको हेल्थ डेस्कबाट १५ हजार ८६ जनाको आरडिटी मलेरिया टेस्ट गर्दा ३ जनामा पोजेटिभ पाइएको महाशाखाको तथ्यांकमा उल्लेखछ ।

उक्त कार्यक्रममा स्वास्थ्य सेवा विभाग सरुवा रोग नियन्त्रण महासाखाका निर्देशक डाक्टर चुमनलाल दास, बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, स्वास्थ्य कार्यालयका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।