नेपालगन्ज : संयुक्त बजार अनुगमन टोलीले शनिबार नेपालगन्ज उप महानगरपालिका १४ भवानियापुर स्थित एक मासु बधशाला सन्चालकलाई ५० हजार जरिवाना तिराएको छ ।
उपमहानगरपालिकामा बधशाला मासु पसल दर्ता गरेको तर वाणिज्य कार्यालयमा अलिम एण्ड हलिम मासु सप्लायर्सका रुपमा व्यवसाय सन्चालन गरेका मोहोम्मत आलिम कुरैसीलाई जरिवाना गराइएको हो ।
कुरैसीले बाटोको छेउमा पशु बध गरी निस्केको फोहोर सडकछेउमा फालेको, साइनबोर्ड नराखेको र मूल्यसूची पनि नराखेको पाइएपछि पहिलो पटकका लागी ५० हजार जरिवाना तिराइएको संयुक्त अनुगमन समितिका सदस्य कृष्ण पौडेलले बताए ।
कुरैसीले अछामको हुदै नभएको पशु सेवा कार्यालयबाट समन्वय गरेर मासु सप्लायर्सको काम गरेको भनेपछि उनलाई अनुसन्धानका लागी प्रहरीले पक्राउ गरेको छ ।
कुरैसीले देखाएको कागजपत्रको अनुसन्धान पछि मात्र छाड्न सकिने प्रहरीले जनाएको छ । कुरैसी र उनका सहयोगीले अनुगमनमा आएका टोलिमाथि अभद्र व्यवहार पनि गरेका थिए ।
अनुगमन शुक्रबार पनि विभिन्न खाद्य उद्योग तथा औषधि पसलहरुमा अनुगमन गरेको जनाएको छ ।