राप्तीसोनारीका ५ जनामा सिकलसेल भेटिदाँ ४ जनामा थालसेमिया


राप्तीसोनारीका ५ जनामा सिकलसेल भेटिदाँ ४ जनामा थालसेमिया

नेपालगन्ज २५ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकाका ५ जनामा सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेकोछ । स्वास्थ्य कार्यालय बाँकेले राप्तीसोनारीमा गरेको सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङमा ती ब्यक्तिमा उक्त रोग फेला परेको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ र ४ का ५ जनामा सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । ती वडामा सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ भइरहेकोछ ।

संकलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कुल ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।

सिकलसेल र थालसेमिया रोग फेला परेसंगै स्वास्थ्य कार्यालय बाँकेले ती परिवारका सदस्यहरुको पनि नमुना जाँच गर्ने तयारी गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

राप्तीसोनारीबाट करिव दुई हजार नमुना संकलन गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । सोही उद्देश्यका साथ यतिबेला दैनिक पचास जनाको नमुना संकलन भइरहेको सिकलसेल ल्याव विज्ञ संजिव चौधरीले बताए ।

थारु समुदायमा बंशाणुगतरुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि राप्तीसोनारीमा दैनिकरुपमा स्क्रिनिङ तथा परामर्श शिबिर भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताएका छन् ।

उनका अनुसार पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोग जनस्वास्थ्य समस्याकैरुपमा रहेको छ ।

राप्तीसोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिबिर आयोजना गरिएको हो ।