नेपालगन्ज २६ जेठ : बाँकेका स्थानीय तहले गर्मी बढेपछि विद्यालयको पठनपाठन बन्द गर्न थालेका छन् । देशकै अत्यधिक गर्मी हुने बाँकेमा पछिल्ला केही दिनदेखि ह्वात्तै गर्मी बढेकोछ । गर्मी बढ्नुका साथै तातो हावा (लू) चलिरहेको छ । जसले गर्दा विद्यार्थी लगायतलाई पठनपाठनमा असर परिरहेकोछ ।
गर्मीका कारण बाँकेको ८ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले ५ दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको छ । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिदा दिइएको हो । भोली(शुक्रबार)देखि जेठ ३१ गतेसम्म ५ दिनका लागि विद्यालय बन्द गरिएको छ ।
केही दिन यता बढेको अत्यन्तै गर्मीका कारण विद्यालयको पठनपाठनमा पर्न गएको प्रभावलाई ध्यान दिएर जेठ २७ गतेदेखि ३१ गतेसम्म ५ दिनका लागि सबै विद्यालयहरु पठनपाठन बन्द गर्न सूचना जारी गरिएको नेपालगन्ज उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा उपसचिव गोर्ख बहादुर थापाले जानकारी दिए ।
उता खजुरा गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत खगेन्द्रबहादुर मल्लले तापक्रम बृद्धिसंगै तातो हावाका कारण दैनिक जिवन कष्टकर बन्दै गएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि विपद ब्यवस्थापन समितिको संयोजक एवम खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानको निर्देशन अनुसार विद्यालय बन्द गरिएको बताए ।
विद्यालय बन्द भएपनि पूर्वनिर्धारित परीक्षा र अन्य प्रशासनीक काम हुने भने हुने उनले बताए ।
हालसम्म बाँकेका ८ पालिका मध्ये नेपालगन्ज र खजुराले सूचना जारी गर्दै विद्यालय बन्द गरिने जनाएका छन् । तर, कोहलपुर नगरपालिकासंगै राप्तीसोनारी, बैजनाथ, जानकी, डुडुवा र नरैनापुर गाउँपालिकाले यस विषयमा अझै निर्णय गरिसकेको छैन ।