नेपालगन्ज २९ जेठ : अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले नेपालगन्जमा रक्तदान गरेकोछ । क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जको सहकार्यमा प्रतिष्ठानले रक्तदान गरेको हो ।
प्रतिष्ठानको रक्तदान कार्यक्रममा नेपालगन्जका विभिन्न क्षेत्रमा रहेका ३१ जना रक्तदाताले रक्तदान गरेको सुधिर गौतमले जानकारी दिए । रगतको अभाव खड्किदै गएपछि प्रतिष्ठानले रगत अभावबाट कसैले ज्यान गुमाउन नपरोस भन्दै मानवीय कार्यका लागि रक्तदान गरिएको हो ।
पछिल्लोे समय बाँकेमा रगत अभाव बढ्दै गएकोछ । रगतदान गर्ने दाता र रक्तदानका कार्यक्रम आयोजना गर्ने संघसस्थाहरुको सक्रियतामा कमि आउँदा बाँकेमा रगत अभाव बढ्दै गएको हो ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनका कारण नियमित रक्तदाता तथा विभिन्न संघसस्थाले नियमितरुपमा रगत दान कार्यक्रमको आयोजनामा कमी आएका कारण रगत अभाव खड्किएको क्षेत्रीय रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार रक्त सञ्चार केन्द्रले बाँकेमा दैनिक सरदर ४० पिन्ट रगत प्रदान गर्दै आएको छ ।