उपचारमा नागकिरको पहुँच बढ्दै


उपचारमा नागकिरको पहुँच बढ्दै

नेपालगन्ज : नेपालमा अन्धोपन निवारणका लागि ‘भिजन ट्वान्टी–ट्वान्टी’ कार्यक्रम सञ्चालन भएपछि आँखा उपचार सेवामा नेपालीको पहुँच क्रमशः बढ्दै गएको छ।

कार्यक्रमअन्तर्गत नेपालका विभिन्न स्थानमा आँखा अस्पताल र उपचार केन्द्र सञ्चालनमा आएपछि आँखा रोगको समस्या झण्डै आधा घटेको नेपाल नेत्र ज्योति संघ बाँकेका अध्यक्ष रतनकुमार टण्डन बताउँछन् ।

नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्री, जयनगर, भुरीगाउँ, राजापुर र बाँसगढीमा गरी आठ वटा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।

संयुक्त राष्ट्र सङ्घले ‘दृष्टिका लागि अधिकार’ नारासहित भिजन ट्वान्टी–ट्वान्टी कार्यक्रम तर्जुमा गरेपछि नेपालले अनुमोदनपत्रमा हस्ताक्षर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्पत मुलुकभरि कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

भिजन ट्वान्टी–ट्वान्टीले मोतियाविन्दु, जलविन्दु, खस्रे रोगको उपचार, बालबालिकामा हुने अन्धोपन न्यूनीकरण, चस्माको जाँच, न्यून दृष्टि सेवा, मधुमेहका कारण आँखाको दृष्टिमा पर्ने असरको उपचार गर्नाका साथै आँखा रेखदेख सम्बन्धी चेतनामूलक कार्यक्रमलाई समेटेको अध्यक्ष टण्डनले बताए ।

आँखाका समस्या भएका नागरिकमध्ये ९० प्रतिशत ग्रामीण भेगका छन् । ७२ प्रतिशत मोतियाविन्दुको समस्याबाट प्रभावित छन् । आँखाको विभिन्न रोगबाट पीडितमध्ये ८० प्रतिशतको रोग निको गर्न सकिने पछिल्लो पटक गरिएको सर्वेक्षणले देखाएको छ ।

अध्यक्ष टण्डनका अनुसार नेपालका अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रका जिल्लाका नागरिकमा बढी आँखा रोगको समस्या देखापरेको छ ।