प्रियंका रानी बनिन् मिस नेपाल


प्रियंका रानी बनिन् मिस नेपाल

नेपालगन्ज ४ असार : काठमाडौंकी प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधि जितिन् । उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् । २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए । यसका साथै विभिन्न ९ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

कोरोना महामारीको कारण अघिल्ला दुई वर्षमा रोकिएको मिस नेपाल यसपटक भने भौतिकरुपमै आयोजना भएको हो । द हिडन ट्रेजरले यसपटकको संस्करणलाई भव्य तुल्याइने जनाएको छ ।

६ जना चिकित्सकसहित विभिन्न पेसा व्यवसायका सुन्दरी प्रतिस्पर्धामा उत्रिएका थिए । यसपटकको संस्करणबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिएको छ । भने यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

मुख्य तीन टाइटलबाहेक बाँकी ९ वटा सब–टाइटलको विजेतासमेत घोषणा गरिएकोछ । नीति शाहसहितका ११ जना निर्णायकले फाइनलिस्टलाई प्रश्नहरु सोधेका थिए ।

यसपटकको मिस नेपालमा अहिलेसम्मकै धेरै आवेदन परेको थियो । झण्डै ८ सय सुन्दरीले दिएको आवेदनबाट अडिसन हुँदै अन्तिम २४ जना छानिएको हो ।

प्रतियोगिताको फाइनलमा आकृति शाह, आस्रुती सुवेदी, आयुस्नोभा ढुङ्गाना, ऐश्वर्या शाही ठकुरी, अनुष्का पौडेल, अनुसूर्य डाँगी, अस्मिता ढुंगाना, अस्रा श्रेष्ठ, दिलाशा डोटेल, गंगा गुरुङ, ह्रतुल पौडेल, ममता ढकाल, मानसी चन्द, मेरिका बाँस्कोटा, न्यान्सी खड्का, प्रियंका रानी जोशी, रोज कँडेल, सरिसा श्रेष्ठ, स्मारिका शर्मा, साफिया श्रेष्ठ, श्रृया गजुरेल, श्रीयान्सु पिया, सुस्मिता बोगटी र यशस्वी श्रेष्ठ रहेका थिए ।

पहिलोपटक कर्णाली प्रदेशको राजधानी सुर्खेतमासमेत अडिसन आयोजना गरिएको थियो । द हिडन ट्रेजरले प्रतियोगिता आयोजना गरेको हो ।

महिला संगठनको विरोध

मिस नेपाल प्रतियोगिता खारेज गर्न माग गर्दै सात महिला संघसंगठनले विरोध प्रदर्शन गरेका थिए ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, नेपाल महिला फेडरेशन, वैज्ञानिक समाजवादी महिला संगठन, अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला युनियनले उक्त विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले मिस नेपाल २०२२ को ग्राण्ड फिनाले भइरहेको ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्र बाहिर पुगी विभिन्न नाराबाजीसहित विरोध प्रदर्शन गरेका थिए ।

सुन्दरी प्रतियोगिताका सहभागी युवतीहरु यौन दुर्व्यवहारको शिकार भएको भन्दै उनीहरुलाई भित्री गुण र क्षमता तथा योग्यताभन्दा शरीरको बनावट, रुप र रंगमा जोड दिने सुन्दरी प्रतियोगिताको औचित्य नभएको उनीहरुको भनाइ छ ।

हालै मिस ग्लोबल इन्टरनेशनलमा सहभागी एक युवतीले आफू आयोजकबाट यौन शोषणमा परेको घटना सार्वजनिक गरेका थिए । उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका मनोज पाण्डे प्रहरी नियन्त्रणमा रहेका छन् ।