बाँकेका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाइदैं


बाँकेका बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप लगाइदैं

File Photo

नेपालगन्ज ९ असार : बाँकेका ७६ हजार बढि बालबालिकालाई कोभिड विरुद्धको ‘फाइजर–बायोएनटेक’ खोप दिइदैँछ । आज (असार ९ गते) देखि सञ्चालन हुने उक्त खोप अभियानमा बाँकेका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको हो ।

आगामी असार ११ गतेसम्म चल्ने खोप अभियानमा बाँकेका ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसैगरि कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएका छन् । उनका अनुसार जिल्लाका ५ सय ८ स्थानमा खोप केन्द्र राखिएको छ । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलेको थियो ।
‘दुई सयभन्दा बढी बालबालिका भएको बिद्यालयमै पुगेर खोप लगाउने कार्यक्रम छ, त्यो भन्दा कम संख्या भएका बिद्यालयको हकमा अन्य बिद्यालयमा गाभेर लगाइनेछ,’ उनले भने ।

बिद्यालयका साथै इट्टा भट्टा लगायत स्थानमा रहने बालबालिकालाई पनि सम्बन्धित ठाउँमा पुगेर खोप लगाइने श्रेष्ठले बताए । बालबालिकालाई खोप लगाएपछि समस्या देखिए तत्काल उपचारका लागि ‘एड्रिलाइन’ इन्जेक्सनसमेत खोप केन्द्रमा राखिनेछ ।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, सुई लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन् ।

खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ ।

यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म २७ जिल्लाका बालबालिकालाई पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

यस्तै दोस्रो चरण ५० जिल्लामा भदौं ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म सञ्चालन गरिनेछ । पाँच वर्षदेखि १२ वर्षमुनि उमेरका विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली, विद्यालयले उपलब्ध गराएको परिचयपत्रको आधारमा खोप लगाइनेछ ।

यसैगरी विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ ।