नेपालगन्ज ९ असार : आगामी आर्थिक वर्ष २०७९/८० का लागि नेपालगन्ज उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नेपालगन्जमा बिहीबार आयोजित ११ औं नगर सभामा नगरप्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका हुन् ।
आगामी आर्थिक वर्षलाई लक्षित गर्दै नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ६३ करोड ६५ लाख बढिको बजेट ल्याएको छ । ११ औँ नगर सभामा उपमेयर कमरुद्दिन राईले एक अर्ब ६३ करोड ६५ लाख ७२ हजार ४ सय रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।
०७७/७८ मा उपमहानगरको आन्तरिक राजस्वतर्फ १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा कोरोनाका कारण राजस्व क्षमतामा कमी आई १४ करोड एक लाख ५० हजार ५ सय ७ रुपैयाँ ५८ पैसा असुल भई करिब ८१ प्रतिशत लक्ष्य हासिल भएको थियो ।
यस आर्थिक वर्षका लागि अनुमानित १४ करोड ७ लाख रुपैयाँ मात्र भएकोमा हालसम्म १३ करोड ४० लाख ५३ हजार ३ सय १४ रुपैयाँ संकलन भएको छ । यस वर्षको हालसम्मको आम्दानीको स्थितिले आन्तरिक स्रोत अनुमानको शतप्रतिशत लक्ष्य प्राप्त हुने देखिएको छ ।
आगामी आवको आन्तरिक स्रोतको आय १५ करोड ६९ लाख १० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । नेपालगन्जको कुल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानबाट प्राप्त हुने भएकाले आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाएर कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।
गत ०७७÷७८ मा व्ययतर्फ चालु खर्च ८९ करोड ८१ लाख ९९ हजार ८ सय २० रुपैयाँ ६ पैसा विनियोजन भएकामा ७७ करोड ५९ लाख ४५ हजार ५ सय ३६ रुपैयाँ ५ पैसा मात्रै खर्च भएको थियो ।
पुँजीगत खर्च ८१ करोड ३१ लाख ९३ हजार एक सय १८ रुपैयाँ ८३ पैसा विनियोजन भएको छ । वित्तीय व्यवस्थातर्फ ३ करोड १० लाख रुपैयाँ विनियोजन गरेर खर्च गरिएको थियो ।
चालु वर्षको असार ७ गतेसम्म एक अर्ब ७ करोड ४ लाख २९ हजार ५ सय ९७ रुपैयाँ २७ पैसामध्ये ७२ करोड ७५ लाख ८२ हजार ७ सय २१ रुपैयाँ ३५ पैसा पेस्कीसहित खर्च भएको छ ।
पुँजीगततर्फ ६८ करोड ७ लाख ७२ हजार एक सय ७१ रुपैयाँ ३६ पैसा विनियोजन भएकामा २४ करोड २४ लाख २० हजार ९० रुपैयाँ ९० पैसा खर्च भएको छ ।
वित्तीयतर्फ चार करोड रुपैयाँ विनियोजन गरिएकामा एक करोड ७८ लाख ५२ हजार २ सय ९१ रुपैयाँ २१ पैसा खर्च भएको छ ।
यसैबीच, मेयर प्रशान्त विष्टले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बागेश्वरी मन्दिरको संरक्षण, सम्बद्र्धन, सौन्दर्यकरणसहित बागेश्वरी क्षेत्र विकास कोषको स्थापना गर्न गुरुयोजना बनाइने, नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति स्थापना गर्ने, लोप हुन थालेका टाँगाको संरक्षण र सम्बद्र्धन गर्ने, नगरभित्रका तालतलैयाको संरक्षण गर्ने, नेपालगन्जलाई क्लिन, ग्रिन र हेल्दी सिटीको रुपमा विकास गर्ने, पार्किङको व्यवस्थापन गर्ने, बजार क्षेत्रलाई फ्रि वाइफाइजोनको रुपमा विकास गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाउन पहल गर्ने, मातृ भाषामा पठनपाठनका लागि आवश्यक पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने, नेपालगन्जलाई मेडिकल हबको रुपमा विकास गर्ने, दूध, तरकारी, फलफूल र मासुमा आत्मनिर्भर बनाउने, ई–रिक्सा व्यवस्थापन गर्ने लगायत विषय समेटिएको छ ।
सभामा सभाध्यक्ष विष्ट, उपप्रमुख राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतसहित २३ वटै वडाबाट प्रतिनिधित्व गरेर १ सय १७ जना सभासद सहभागी भएका थिए । नियम अनुसार हरेक स्थानीय तहले असार १० गतेभित्र नगर सभा गर्नुपर्नेछ ।