जानकीले ल्यायो ५९ करोड बढिको बजेट


जानकीले ल्यायो ५९ करोड बढिको बजेट

मानपुर(बाँके) ११ असार : आगामी आर्थिक वर्ष २०७९/८० का लागि जानकी गाउँपालिकाले ५९ करोड बढिको बजेट ल्याएकोछ । बिहीबारदेखि जारी १२ औं गाउँ सभामा जानकीकी उपप्रमुख रामप्यारी यादवले आगामी आर्थिक वर्षका लागि उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । आगामी आर्थिक वर्षलाई लक्षित गर्दै जानकी गाउँपालिकाले ५९ करोड ५३ लाख ५९ हजारको बजेट ल्याएकोछ ।

१२ औँ गाउँ सभामा उपप्रमुख यादवले गाउँबासीको समृद्धिको सपना साकार पार्न सुशासन र सुरक्षाको प्रत्याभुति गराउँदै गाउँ विकासमा जनतालाई सहभागिता र अपनत्वको महसुस गराउने, सेवा प्रवाहलाई सरलिकृत र चुस्त बनाउने, स्वरोजगारको माध्यमबाट गरीबि न्यूनिकरण, लिङ्क रोड, प्रशासनिक भवन तथा वडाको भवन निर्माण, १५ शैय्याको अस्पताल, स्वास्थ्य चौकीको निर्माण र स्तरोन्ती गर्नुका साथै नागरिक स्तरबाट उठान भएका आवश्यकता एवंम अपेक्षाहरुको सम्बोधनलाई जोड दिइएकोछ ।

गाउँसभाले स्वकृत गरेको नीति तथा कार्यक्रम, स्थानीय तहको एकल तथा साझा अधिकारको सूची, मौलिक हकहरु, संघीय सरकार, प्रदेश र जानकी गाउँपालिकाले तर्जुमा गरेको आवधिक योजना समेतले लिएका नीति तथा प्राथमिकताहरुलाई आधार मानेर आगामी आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम तर्जुमा गरेको गाउँपालिका उपप्रमुख यादवले जानकारी दिइन् । जानकी गाउँपालिकाकी उपप्रमुख रामप्यारीद्वारा प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ कुल ७५ लाख विनियोजन गरेकोछ ।

आर्थिक विकासतर्फ कृषि क्षेत्रका लागि ३५ लाख, पशु क्षेत्रका लागि ३५ लाख र सहकारी क्षेत्रका लागि ५ लाख गरि कुल ७५ लाख विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासतर्फ कुल एक करोड ६५ लाख विनियोजन गरिएकोछ । सामाजिक विकासतर्फ शिक्षा क्षेत्रका लागि ९० लाख, महिला तथा बालबालिका क्षेत्रका लागि १५ लाख र स्वास्थ्य क्षेत्र ६० लाख गरि कुल एक करोड ६५ लाख बजेट विनियोजन गरिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरि पूर्वाधार विकासतर्फ जानकी गाउँपालिकाले सबैभन्दा बढि बजेट विनियोजन गरेकोछ । पूर्वाधार विकासतर्फ कुल २० करोड ९० लाख ५९ हजार बजेट विनियोजन गरिएको हो । पूर्वाधार विकासतर्फ गाउँपालिका स्तरीय योजनाका लागि १६ करोड ५५ लाख ५९ हजार, वडा स्तरीय योजनातर्फ ४ करोड ३० लाख गरि २० करोड ९० लाख ५९ हजार बजेट विनियोजन गरेको हो ।

गाउँपालिका उपप्रमुख यादवले प्रस्तुत गरेको बजेटमा वन, वातावरण तथा विपत व्यवस्थापनतर्फ १० लाख विनियोजन गरेकोछ । आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सुशासन तथा संस्थागत क्षमता विकासतर्फ पालिकाको चालु बजेट ९ करोड २५ लाख र वडास्तरीय चालु बजेट ६० लाखसहित कुल १० करोड ८० लाख बजेट विनियोजन गरेकोछ ।

यस्तै न्यायिक तथा लक्षित कार्यक्रम अन्र्तगत ५०–५० लाख र कर्मचारी कल्याण कोषका लागि २० लाख गरि कुल १० करोड ८० लाख बजेट सहित समग्रमा ५९ करोड ५३ लाख ५९ हजार बजेट विनियोजन गरिएको हो ।
यसअघि गाउँपालिकाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा गाउँपालिकाले आर्थिक विकासतर्फ कृषि तथा पशु, सहकारी एवं वित्तीय व्यवस्थापन र उद्योग, सामाजिक विकासतर्फ स्वास्थ्य तथा सरसफाई, शिक्षा युवा तथा खेलकुद, जेष्ठ नागरिक महिला बालबालिका तथा अपांग, सँस्कृति तथा पर्यटनलाई समेटिएको छ ।

त्यस्तै पुर्वाधार विकासतर्फ पुर्वाधार विकास, भुमि तथा भवन ब्यवस्थापन, वातावरण तथा विपत व्यवस्थापनतर्फ वन वातावरण तथा विपद व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ सुशासन तथा सेवा प्रवाह, राजश्व प्रशासन र न्याय प्रणाली सम्बन्धी विषयलाई प्राथमिकता दिइएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकी गाउँबासीको चाहना अनुरुप आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्न गाउँबासीको आवश्यकतालाई बजेटमा आत्मसात गर्ने प्रयत्न गरिएको बताए ।

उनले क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दिर्घकालिन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यान्वयन गर्न स्रोत साधन, प्रविधि र जनशक्ति लगायतको प्रभावकारी र कुशल रुपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरिएको बताए ।

समग्र गाउँपालिकामा सुशासन कायम गर्न आफू कटिबद्ध भएको बताउँदै गाउँपालिका अध्यक्ष खाँले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ’ भन्ने प्रतिज्ञा सहितको कार्य संस्कृतिको प्रर्वद्धन गरिने बताए ।

सभामा वडा नम्बर ५ का वडाअध्यक्ष एवम् सभाका सदस्य टिकानाथ यादवले स्वागत गरेका थिए । गाउँपालिका अध्यक्ष खाँको सभाध्यक्षतामा आयोजित सभामा उपाध्यक्ष रामप्यारी यादव, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा सदस्यहरुको उपस्थिती रहेको थियो । भने सभा सञ्चालनको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले गरेका थिए ।