नेपालगन्ज ११ असार : राप्तीसोनारी गाउँपालिकाको ११ औं गाउँसभा केहीबेर बसेर स्थगित भएको छ । सभामा आवश्यक पर्ने गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको हो । सभाका सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलका अनुसार स्थगित भएको सभा आगामी असार १४ गते बिहान ११ बजे पुनः बस्नेछ ।
सभा शुक्रबार दिउँसो १ बजे बस्ने यसअघि तय भएको थियो । बजेट विनियोजनका विषयमा नेकपा एमाले निकट जनप्रतिनिधीले असहमती जनाएपछि गाउँसभा दिनभर अन्यौलमा परेको थियो । अपरान्हतिर सभा सञ्चालन गर्नका लागि पुनः बसेको कार्यपालिका बैठकमा पनि एमालेका जनप्रतिनिधीहरु सहमतीमा नआएपछि बेलुका ६ बजेतिर ११ औं सभा सञ्चालन गरिएको थियो ।
एमाले निकट जनप्रतिनिधी अनुपस्थित भएपनि सभा केहीबेरसम्म सञ्चालन भएको थियो । उक्त सभामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाका गरी १९ जना जनप्रतिनिधीले सहभागिता जनाएका थिए । गाउँ सभामा सभाध्यक्ष सहित ४७ जना सदस्य छन् । यसमध्ये एमालेका २७ र काँग्रेस, माओवादी तथा राप्रपाका २० जना सदस्य छन् ।
गाउँपालिका अध्यक्ष पौडेलले यही असार ८ गते नीति तथा कार्यक्रम र बजेटलाई कार्यपालिका बैठकबाट निर्णय गरिएको र एमालेका जनप्रतिनिधी आफैंले गरेको निर्णय विपरित सभामा अनुपश्चित भएको बताए । ‘आफैले गरेको निर्णयलाई नमान्नु र निर्णयबाट पछाडी हट्नु दुर्भाग्यपूर्ण हो, उहाँहरुमा बहुमतको दम्भ र अहंकार देखियो,’ पौडेलले भने ।
गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफू सबैसँग सहमति र सहकार्य गर्न तयार रहेको उनले बताए । सभाका सदस्य समेत रहेका वडा नम्बर–२ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीले बजेट बाँटफाँटका विषयमा कार्यपालिकाले यसअघि गरेको निर्णय परिवर्तन भएकाले असहमती जनाउनु परेको जिकिर गरे । ‘सभा वहिष्कार गर्ने हाम्रो नियत होइन, कार्यपालिकाले गरेको निर्णय अनुसार अगाडी बढौं भन्ने हो,’ उनले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले गाउँ सभामा प्रस्तुत गर्ने बजेटका विषयमा यसअघि लामो समय खर्चेर कार्यपालिका बैठकले निर्णय गरेको स्मरण गराउँदै कार्यपालिकाले गरेको निर्णय अनुसार नै गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने सूची रहेको बताए ।
‘कार्यपालिका बैठकमा उहाँहरुले जे निर्णय गर्नु भएको थियो, त्यही निर्णय अनुसार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने तयारी थियो, तर एक्कासी उहाँहरुले वडाको बजेट बढाउनुपर्ने कुरा उठाउनु भयो र त्यही निहुँमा सभामा अनुपस्थित हुनुभयो,’ डाँगीले भने ।
प्रमुख प्रशासकीय अधिकृत डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाँको बजेट सिलिङ दिइएको छ । वडाको जनसंख्या र भुगोल हेरेर १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँ सम्म बजेट दिइएको छ । गाउँसभाले कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँको बजेट ल्याउने तयारी छ ।
नियम अनुसार गाउँसभा सञ्चालनका लागि पहिलो र दोस्रो पटक ५१ प्रतिशत सदस्य संख्या अनिवार्य रुपमा पुग्नुपर्छ । तर, तेस्रो पटक भने सभामा २५ प्रतिशत सदस्य मात्रै उपस्थित भएपनि उक्त सभाले नीति तथा कार्यक्रम र बजेट पारित गर्ने बैधानिकता पाउने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।’ सकभर सहमतीबाटै सभा सञ्चालन होस् भन्ने सबैको कामना हो, नत्र प्रक्रियागत रुपले सभा अगाडी बढ्छ,’ उनले भने ।
लुम्बिनीमा एक ‘भिक्षुणी’को अग्नी-परीक्षा
तन्नेरी पुस्ताकाे आवाज दबाउन खाेज्दा फ्रान्समा सल्किएकाे हिंसाकाे आगाे
चोलेन्द्र, दीपक र ईनमको जालो सुशील भट्टसम्म, अझैं कहाँसम्म पुग्ला?
सुनकोसीमा खस्यो टाटा सुमो, ३ जनाको मृत्यु, चारजना नदीमै हराए
धेरैपछि बोले जीवी राई: मलाई थुनेर पैसा फिर्ता हुँदैन, नेपाल फर्किन चाहन्छु, रवीबारे के भने?
यस्तो बन्यो ‘बदलिएको काँग्रेस’ हाँक्ने टिम गगन