बाँकेमा लागुऔषध मुद्दामा १८५ जना पक्राउ, ट्याब्लेटको कारोबार बढ्यो


बाँकेमा लागुऔषध मुद्दामा १८५ जना पक्राउ, ट्याब्लेटको कारोबार बढ्यो

नेपालगन्ज ११ असारः बाँकेमा लागुऔषध मुद्दामा १८५ जना पक्राउ परेको तथ्यांकले देखाएकोछ । चालु आर्थिक वर्षको असार पहिलो सातासम्म लागुऔषधसहित १८५ जना पक्राउ परेका हुन् ।

लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर शनिबार जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।

लागुऔषध प्रयोगकर्ता, कारोबारी, पुनःस्थापना केन्द्रका बारेमा जानकारी दिदैँ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले यस्तो जानकारी दिएका हुन् ।

गत आर्थिक वर्षमा बाँकेमा कुल १९६ जना पक्राउ परेका थिए । जसमा १८५ पुरुष र ११ महिला रहेकोमा १२६ जनालाई मुद्दा चलाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

चालु आर्थिक वर्षको असार पहिलो सातासम्म १८५ जना पक्राउ परेकाछन् । जसमा १७५ पुरुष र १० जना महिला रहेकाछन् । भने ११२ जनालाई मुद्दा चलाइएकोछ ।

पछिल्लो तथ्यांकअनुसार जिल्लामा ट्याब्लेटको कारोबार बढेको देखिन्छ । गतवर्ष भन्दा चालु आर्थिक वर्षमा नाइट्रोजन र ट्रामाडोल दोब्बर बढी पक्राउ गरिएको छ ।

गत आर्थिक वर्षमा ब्राउन सुगर ५७० ग्राम, चरेस २० दशमलव ३ केजी, अफिम ३४ दशमलव ५७४ केजी, गाँजा ६८ दशमलव ४३ केजी, कोरेक्स ३९ दशमलव ४ लिटर, नाइट्रोजन एक हजार ३१० ट्याब्लेट र ट्रामाडोल एक हजार ७० ट्याब्लेट बरामद गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षको असार पहिलो सतासम्म ब्राउनसुगर ८९० दशमलव ९९ ग्राम, चरेस १४ दशमलव १५८ केजी, गाँजा २४ दशमलव२८ केजी, कोरेक्स ८ दशमलव ४ लिटर, नाइट्रोजन ४ हजार २५ ट्याब्लेट र ट्रामाडोल २ हजार ४३० ट्याब्लेट बरामद हुँदा अफिम भने बरामद भएको छैन ।

बाँकेमा २० वटा पुनःस्थापना केन्द्रमा अहिले ३ सय १२ जनाको उपचार भइरहेको छ । निःशुल्क परामर्श केन्द्रमा ९ जनाले सेवा लिइरहेका छन् ।

यसैबीच, लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बाँकेमा सप्ताहव्यापी विविध कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा लागुऔषधीविरुद्ध काम गरिरहेका संघ संस्थाले जनचेतनामूलक विविध गतिविधि गरेका हुन् ।

दिवसको अवसरमा असार ८ देखि कार्यक्रमहरू गरिएको छ । लागुऔषधविरुद्धका जिंगलमार्फत प्रचारप्रसार, चोक तथा सार्वजनिक स्थलहरूमा सचेतना, नाकामा चेतनामूलक कार्यक्रमसँगै अन्तरक्रिया, रक्तदान गरिएको छ । १२ गते विहान ७ बजे प्रभातफेरिसँगै समापन हुनेछ ।