नेपालगन्ज असार १२ : नेपालगन्ज क्षेत्रको पर्यटन प्रर्बद्धन गर्न होटेल सोल्टी वेष्ट्रन प्रिमियमले नेपालगन्जमा नेपाल फम टिप ट्राभवल ट्रेड फेयर आयोजना गरेको छ ।
कोरोना संक्रमणका कारण सुस्ताउँदै गएको पर्यटन क्षेत्रलाई पुनः लयमा फर्काउन आयोजना गरिएको नेपाल फम टिप ट्राभवल ट्रेड फेयरमा भारतको उत्तर प्रदेशका शहरहरु लखनउ, कानपुर, बनारस, रायबरेली, गोरखपुर लगायत बिभिन्न शहरका १९ जना पर्यटन ब्यबसायीहरु सहभागी छन् ।
भारतीय पर्यटन ब्यबसायीहरुलाई नेपालगन्ज र नेपालगन्ज हुँदै पुग्न सकिने बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानीदेखि रारा लगायतका पर्यटकीय गन्तब्यहरुका बारेमा जानकारी दिने उद्देश्यले नेपाल फम टिप ट्राभवल ट्रेड फेयर आयोजना गरिएको होटेल सोल्टीकी सहायक सेल्स तथा मार्केटिङ अफिसर रोजीना महर्जनले बताईन् ।
नेपाल फम टिप ट्राभवल ट्रेड फेयरमा सहभागी हुन लखनउबाट आएका सिभिका ट्राभल प्रालिका निर्देशक सुनिल भी सत्य बचनले भारतीय पर्यटकहरु घुमफिरका लागि नेपाल जाने क्रम बढ्दै गएको बताए ।
नेपालीहरुको आत्मिय ब्यवहार र इमान्दारिताका कारण भारतीयहरुका लागि नेपाल सुरक्षित गन्तब्य भएको बताउँदै नेपालका हिमाल, पहाडका साथ साथै पशुपतीनाथ मुक्तिनाथ लगायतका मठ मन्दिर, ताल, निकुञ्ज र कला सँस्कृतिहरु भारतीय पर्यटकहरुका लागि आकर्षणको केन्द्रमा रहेको बताए ।
नेपालगन्ज उप महानगरपालिकाका पुर्ब मेयर डाक्टर धबल शम्सेर राणाले भारतीय पर्यटकहरुका लागि आकर्षित गर्न नेपाल–भारत सीमावर्ती क्षेत्रमा चेक जाँचका नाममा दुःख दिने प्रबृत्तिको अन्त्य गर्नु पर्ने बताउँदै नेपालगन्जका क्यासिनोहरु भारतीय पर्यटकहरुको आकर्षणको केन्द्रमा रहेको बताए ।
सो अवसरमा भारतीय पर्यटन ब्यबसायीहरुलाई नेपाली सेनाका पश्चिम कमाण्डका उपरथी प्रेम शाही, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी, पुर्ब मेयर डाक्टर राणा, नेपाली सेनाका नम्बर–४ बाहिनीका बाहिनीपति उत्तम बिष्ट र होटेल सोल्टीका कर्मचारीहरुले भादगाउँले कालो टोपी र खकुरी उपहार दिएका थिए ।
सोल्टी बेष्र्टन प्रिमियर सोल्टी ग्रुपको राजधानी बाहिरको पहिलो शाखा हो । करिब एक अर्ब २५ करोडको लागतमा निर्माण भएको पाँच तारे होटल सोल्टी बेष्र्टन प्रिमियरमा ८१ वटा कोठाहरु छन् ।