भेरी अस्पतालमा प्रहरीको अप्रेशन : पाँच जना बिचौलिया पक्राउ


भेरी अस्पतालमा प्रहरीको अप्रेशन : पाँच जना बिचौलिया पक्राउ

File Photo

नेपालगन्ज १४ असार : बाँके प्रहरीले भेरी अस्पतालमा अप्रेसन चलाउँदा पाँच जना विचौलियालाई नियन्त्रणमा लिएकोछ ।

अस्पतालमा आएका बिरामीलाई आफू अनुकूलको मेडिकलबाट औषधि किन्न र परीक्षण गर्न लगाउने बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने पाँच जनाको नाम भने प्रहरीले खुलाएको छैन ।

‘भेरी अस्पताल, नेपालगन्जबाट पाँच जना बिचौलियालाई नियन्त्रणमा लिइएकोछ’ बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले भने –‘बिरामीलाई दुःख दिएको गुनासो आएपछि पाँच जनालाई नियन्त्रणमा लिएको हो ।’

भेरी अस्पताल प्रशासनले नै बिचौलियाको बिगबिगी भएको भन्दै प्रहरीलाई अप्रेसन गर्न अनुरोध गरेको डिएसपी न्यौपानेले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल प्रशासनको अनुरोधमा अस्पताल हाताभित्र हुने गरेका बान्छनिय कार्यप्रति प्रहरीले निगरानी राखेको थियो । प्रहरीले निगरानी बढाएसंगै अस्पताल परिसरमै आएर विरामी र उनका आफन्तलाई दवाव दिदैँ आफू अनुकूल मेडिकलबाट औषधी किन्न र परीक्षण गर्न लगाउनेलाई पक्राउ गरिएको हो ।

अस्पतालमा बिचौलिया र चोरको बिगबिगी बढ्दै जाँदा एकथरीले कमिसनको नाममा बिरामीलाई दुःख दिने र अर्कोथरीले अस्पताल परिसरबाट मोटरसाइकल लगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।

पछिल्लो समयमा भेरी अस्पताल परिसरबाट अस्पतालका कर्मचारी, विरामी कुरुवा लगायतको मोटरसाइकल, साईकल र सामान चोरी हुने क्रम बढ्दै गएकोछ ।