असार १५ मै किन खाइन्छ दही–चिउरा ?


असार १५ मै किन खाइन्छ दही–चिउरा ?

नेपालगन्ज १५ असार : आज असार पन्ध्र । मध्य वर्षायाम । अर्थात दही–चिउरा खाने दिन । असार पन्ध्रमा सबैले चिउराको व्यवस्था गर्छन्, दहीको जोहो गर्छन् । यसमा कतिले मौसमी फल आँपको स्वाद मिसाउँछन्, कतिपयले केरा । घर–घरमा दही चिउरा खाइन्छ ।

सबैलाई थाहा छ, असार पन्ध्रमा दही–चिउरा खानुपर्छ । दही–चिउरा खानु परम्परा हो । असार पन्ध्रमै किन दही चिउरा खाने प्रचलन चलाइयो ? यसको महत्व के होला ?

मानो खाएर मुरी उब्जाउने सिजन

हाम्रो मुलुक कृषिमा आधारित छ । धेरैजसोको जीवन खेतीकिसानीमा बित्ने गर्छ । धेरैजसोले पशुपालन गर्छन्, अन्नवाली लगाउँछन् । अतः असार–साउन अर्थात वर्षायाम भनेको खेतीबाली लागाउने मध्य सिजन । यतिबेला धान लगायत अन्नबाली लगाउने गरिन्छ । अन्नवाली लगाउनका लागि यो नै अनुकुल सिजन हो ।

Kids Festival 2022
kanti aarogya hospital

खेतीपातीमा खटिने किसानहरुलाई यतिबेला भ्याइनभ्याई हुन्छ । किसानहरु दिनभर माटोमा खेल्छन्, हिलोमा खेल्छन्, मलखाँद तयार गर्छन्, अन्नबाली लगाउँछन् ।

बिहानदेखि साँझसम्म उनीहरु काममा खटिन्छन् । त्यसैले त असारलाई ‘मानो खाएर मुरी उब्जाउने सिजन’ भनिन्छ । अर्थात यो आयआर्जनको स्रोत बढाउने मेलो पनि हो । थोरै खाएर धेरै काम गर्ने बेला हो । वास्तवमा भन्ने हो भने किसानहरुलाई फुर्सदले खाने समय पनि हुँदैन यतिबेला ।

छिटो–मिठो परिकार

कामको चटारो हुने भएकाले यतिबेला किसानहरुका लागि छिटोमिठो खाजा हो, दही–चिउरा । दही–चिउरा तयारी परिकार हुन् । यसलाई पकाइरहनु पर्दैन । दही चिउरा बनाउन समय लाग्दैन । त्यसैले काममो
हतारोबीच दही चिउरा उपयुक्त हुन्छ, नास्ताको लागि । दही चिउरा मिठो पनि हुन्छ । सर्बप्रिय परिकार हो यो ।

स्वस्थ्यवद्र्धक

वर्षायाममा दही चिउरा सेवन गर्नुको सम्बन्ध स्वास्थ्यसँग पनि छ । वर्षायाममा खानेकुराको माध्यामबाट संक्रमण सर्ने भय हुन्छ । यतिबेला झिंगा, लामखुट्टे, साङ्ला आदिले खानेकुरा दुषित बनाउन सक्छ । यसैगरी गर्मीले गर्दा चाडै सड्ने, गल्ने हुन्छ । त्यसैले पकाएको वा पकाएर राखेको खानेकुराले पेटमा संक्रमण हुने, अपच हुने संभावना रहन्छ ।

दही–चिउरामा त्यस्तो संक्रमणको भय हुँदैन । यसलाई पकाउन नपर्ने भएकाले छिटो हुन्छ, बनाउन सजिलो र छरितो हुन्छ । स्वस्थ्यवद्र्धक पनि हुन्छ ।

सीतल र सुपाच्य खानेकुरा

दही पाचन यन्त्रका लागि निकै उपयोगी पेय मानिन्छ । दहीमा भएका व्याक्टेरियाले पाचन पक्रियामा सघाउ पु¥याउँछ । त्यसैगरी गर्मीमा यो पेयले शरीरलाई सितलता प्रदान गर्छ । त्यसो त दहीमा कार्बोहाइड्रेट, भिटामिन बि, सि हुन्छ, यसले शरीरलाई फुर्तिलो बनाइराख्न सहयोग गर्छ । एक हिसाबले भन्ने हो भने दही स्वादिलो पेय मात्र नभएर औषधी पनि हो ।

चिउरा स्वास्थ्यवद्र्धक खानेकुरा हो । यो सड्ने, गल्ने, बासी नहुने भएकाले कुनैपनि किसिमको संक्रमण हुँदैन । चिउरा र दहीको समिश्रण स्वादिलो हुन्छ साथसाथै सुपाच्य पनि ।

कर्मकाण्ड मात्रै ?

दही चिउरा खेतीबालीमा मात्र खाने परिकार होइन । साथसाथै असार पन्ध्रमा मात्र खाने परिकार पनि होइन । दही चिउरा वर्षायामको खाजा हो ।

वर्षायाममा अरु खानेकुरा सड्ने, गल्ने, बासी हुने भएकाले दही–चिउरा उपयोगी मानिन्छ । छिटो, छरितो, मिठो र सुपाच्य खानेकुुरा भएकाले दही चिउरा यतिबेला हाम्रो शरीरका लागि उपयोगी हुन्छ । त्यसैले असार पन्ध्रमा मात्र दही–चिउरा खानु, तामझाम गर्नुको अर्थ छैन । बरु, दही चिउरालाई वर्षायामको नियमित नास्ता बनाएमा त्यसले स्वास्थ्य लाभ मिल्नेछ । आफ्ना बालबच्चालाई जंकफूड होइन, दही चिउरामा बानी पारौं ।