File Photo
नेपालगन्ज १७ असार : थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार हजार सिकलसेलका बिरामी छन् ।
बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका–११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ ।
उपचारका लागि उनको लाखौँ रकम खर्चसमेत भएको छ । करिब ४० वर्ष उमेरका चौधरीलाई जन्मदै सिकलसेल रोग भएको हो । उनीजस्ता बिरामीले निःशुल्क उपचार पाउनुपर्छ ।
नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित भएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगन्जमा जाँच गराउँदा उनलाई सिकलसेल एनेमिया भएको थाहा भयो । पशुरामलगायत थुपै्र मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् ।
बारबर्दियामा स्थानीय तहमा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बारबर्दियाका सबै स्थानीयवासीको निःशुल्क रगत परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको पूर्व नगरप्रमख दुुर्गाबहादुर थारूले बताए ।
उनले बारबर्दियामा सिकलसेलका बिरामीको स्वास्थ्य जाँचका लागि नगर अस्पतालसमेत आफूले निमार्ण गरेको सुनाए ।
त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ । पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ जारी रहेको उनले जानकारी दिए ।
कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताउँछन् । सिकलसेल एनेमियाका बिरामीलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारूले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्पतालमा मोटो रकम खर्च भएको बताए । ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै उनी आफूलाई सिकलसेल एनेमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन् ।
सिकलसेल विज्ञ डाक्टर राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनेमियाको दिगो समाधान भएको बताए । उनले सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको पाण्डेले बताए ।
देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको सङ्ख्या धेरै भएको बताए । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको उनले बताए ।
बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या धेरै भएको उनले उल्लेख गरे ।
हालै बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा ३७३ जनाको सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ जनामा सिकलसेल पुष्टि भएको थियो । सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने विशेषज्ञ डाक्टर पाण्डे बताउँछन् । नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्ने उनको सुझाव छ ।
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ