सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग


सिकलसेल एनेमियाका बिरामीको निःशुल्क उपचार गर्न माग

File Photo

नेपालगन्ज १७ असार : थारू समुदायको बाहुल्यता रहेका विभिन्न जिल्लाका सिकलसेल एनेमियाका बिरामीलाई निःशुल्क उपचार गर्न माग गरिएको छ । बाँके र बर्दियामा मात्रै करिब चार हजार सिकलसेलका बिरामी छन् ।
बर्दियाको जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीका अनुसार बर्दियाको बारबर्दिया नगरपालिका–११ फच्कहवाका पशुराम चौधरीलाई सिकलसेल एनेमिया रोगले निकै समस्या बनाएको छ ।

उपचारका लागि उनको लाखौँ रकम खर्चसमेत भएको छ । करिब ४० वर्ष उमेरका चौधरीलाई जन्मदै सिकलसेल रोग भएको हो । उनीजस्ता बिरामीले निःशुल्क उपचार पाउनुपर्छ ।

नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराउँदै थकित भएका पशुरामको आर्थिक अवस्था नाजुक भइसकेको छ । पछि भेरी अस्पताल नेपालगन्जमा जाँच गराउँदा उनलाई सिकलसेल एनेमिया भएको थाहा भयो । पशुरामलगायत थुपै्र मानिस बारबर्दिया नगरपालिकामा सिकलसेलका बिरामी छन् ।

बारबर्दियामा स्थानीय तहमा २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बारबर्दियाका सबै स्थानीयवासीको निःशुल्क रगत परीक्षण गरी तथ्याङ्क सङ्कलन गरिएको पूर्व नगरप्रमख दुुर्गाबहादुर थारूले बताए ।
उनले बारबर्दियामा सिकलसेलका बिरामीको स्वास्थ्य जाँचका लागि नगर अस्पतालसमेत आफूले निमार्ण गरेको सुनाए ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी बाँके स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरू भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको छ । पालिकामा थारू समुदायका ९ र १० कक्षामा अध्ययनरत विद्यार्थी र अन्य बिरामीको जेठ १६ देखि असार १० गतेसम्म परीक्षण गरिएको थियो । अझै पनि स्क्रिनिङ जारी रहेको उनले जानकारी दिए ।

कतिपय बिरामीमा त विभिन्न शारीरिक समस्या देखिएपछि छिटो निको हुने आसमा निजी अस्पताल र मेडिकल धाउँदा लाखौँ खर्च भएको र त्यस्ता शारीरिक समस्या निको पनि नभएको बताउँछन् । सिकलसेल एनेमियाका बिरामीलाई सरकारले रु एक लाखसम्म निःशुल्क उपचार गर्छ भन्ने कुराको समेत जानकारी नहुँदा विभिन्न अस्पताल र मेडिकल कलेजमा सास्ती खेपिरहेका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुर निवासी २८ वर्षीय रामकृष्ण थारूले आफूलाई सिकलसेलको निःशुल्क उपचारबारे जानकारी नभएको उल्लेख गर्दै शारीरिक समस्याका कारण निजी अस्पतालमा मोटो रकम खर्च भएको बताए । ऋण खोजेर जम्मा गरेको रु ७० हजार खर्च भएको जानकारी दिँदै उनी आफूलाई सिकलसेल एनेमियाको समस्या नभए पनि छोरा र श्रीमतीमा सो समस्या आएको बताउँछन् ।

सिकलसेल विज्ञ डाक्टर राजन पाण्डेले रोग पत्ता लगाएर पनि बिरामीले लाखौँ खर्च गरेको उल्लेख गर्दै रगत परीक्षण नै सिकलसेल एनेमियाको दिगो समाधान भएको बताए । उनले सिकलसेलको बाहकका लागि औषधि आवश्यक नपर्ने बताए । अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन तर उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ । यो रोग अफ्रिका, भारतलगायतका मुलुकमा रहेको छ । थारू समुदायबाहेक बाहुन, क्षेत्री, मगरमा पनि सिकलसेल देखिएको पाण्डेले बताए ।

देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको सङ्ख्या धेरै भएको बताए । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको उनले बताए ।

बाँकेको कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या धेरै भएको उनले उल्लेख गरे ।

हालै बाँकेको राप्तीसोनारी गाउँपालिका–४ मा ३७३ जनाको सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ जनामा सिकलसेल पुष्टि भएको थियो । सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने विशेषज्ञ डाक्टर पाण्डे बताउँछन् । नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्ने उनको सुझाव छ ।