अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई कारबाहीको सिफारिस

समितिले आफ्नो गल्ती ढाकछोप गर्न सिफारिस गर्‍यो : डाक्टर नाग


अग्रिम हाजिरी गर्ने भेरीका डाक्टर नागलाई कारबाहीको सिफारिस

नेपालगन्ज २१ असार : भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेशकुमार नागलाई कारवाहीको सिफारिस गरिएको छ । त्यसो त डाक्टर नागलाई कारबाहीका लागि सिफारिस गरिएको यो पहिलो घटना होइन ।

डाक्टर नागले अस्पतालमा आफ्नो ड्युटी पूरा नगरेको भन्दै अस्पताल विकास समितिले २०७८ साल साउन २२ गते कारवाहीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र काटेको थियो । तर, त्यसको हालसम्म सुनुवाइ भएको छैन ।

हिजो सोमबार (असार २० गते) अस्पताल पुगेर २९ गतेसम्मको अग्रिम हाजिरी गरेको पाइएपछि दोस्रोपटक उनलाई कारबाहीका लागि समितिले जिल्ला प्रशासन कार्यालय, बाँकेमा कारबाहीका लागि लेखिपठाएको छ । त्यसको बोधार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ ।

डाक्टर नागको नेपालगन्जको पासाङल्हामु मार्गमा बैष्णवी अस्पताल सञ्चालनमा रहेको छ । डाक्टर नागले अधिकांस समय आफ्नै अस्पतालमा दिने र महिनामा १–२ पटक भेरी अस्पताल पुगेर महिनाभरीको हाजिरी गर्ने गरेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

आफ्नै अस्पतालमा समय दिने डाक्टर नागले भेरीमा राम्ररी ड्यूटी नगर्ने कुरा धेरै पहिलादेखि नै उठेको थियो । वरिष्ठ डाक्टरलाई भेरीमा हप्तामा दुई दिनमात्रै पालो पर्ने गर्छ । त्यही ड्यूटीमा पनि डाक्टर नागले लापरबाही गर्ने गरेको अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । अस्पताल विकास समितिबाट डाक्टर नागलाई पटकपटक सुध्रन भनेपनि नमानेको श्रेष्ठको भनाइ छ । अग्रिम हाजिरी गरी डाक्टर नागले आफ्नो उत्तरदायित्व र कर्तव्यबाट विमुख भएको पाइएकाले जिल्ला प्रशासनमार्फत स्वास्थ्य मन्त्रालयमा कारवाहीका लागि सिफारिस गरिएको श्रेष्ठले बताए ।

वरिष्ठ डाक्टरहरुले नै अटेर गर्ने र आफ्ना नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधरणले सास्ती खेप्नु परेको अस्पताल विकास समितिको ठम्याई छ । राज्यको सेवा सुविधा लिएर गैरजिम्मेवार काम गर्नु गलत भएको भन्दै यस्ता अटेरी गर्ने जो कोही कर्मचारीलाई सजग हुन पनि श्रेष्ठले चेतावनी दिए ।

यता भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालमा हुने अराजक अटेरी, दलाली कार्यलाई कडाइका साथ रोक्न समिति निरन्तर कडाइका साथ लागेको बताए ।

उनले केहिदिन पहिला विभिन्न निजी ल्याब फार्मेसीका बिचौलियालाई पक्राउ गरि कारबाही गरिएको बताए । ‘आज हामीले अस्पतालका बरीष्ठ डाक्टर सुरेसकुमार नागलाई कारबाही स्वरुप जिल्ला प्रशासन कार्यालय बाँके र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंमा सिफारीस गरेका छौं’ अध्यक्ष धितालले भने–‘अस्पतालमा हुने सबै खाले अराजकता अनुशासनहिन कार्य रोक्न हामी कडाइका साथ प्रस्तुत भएका छौं । यो कार्यमा भेरी अस्पताल बिकास समितिलाई सहयोग गर्न हामी आम नागरिकमा हार्दिक अनुरोध गर्दछौं ।’

अस्पतालमा हुने ढिलासुस्ती अराजकता, दलाली जस्ता अमर्यादित गतिविधि हुन नदिने समिति कटिबद्ध छ, यस्तो कार्य गरेको पाइए तत्काल खबर गर्नुहोला अध्यक्ष धितालले भने ।

यसैबीच, भेरी अस्पताल नेपालगन्जका वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर सुरेशकुमार नागले अग्रीम हाजिर गरेर आफुले गल्ती गरेको स्विकार गरेका छन् ।

उनले आफुले जानाजान यस्तो गल्ती नगरेको भन्दै भुलबस भएको दावि गरे । ‘जेठ महिना ठानेर हाजिर गरेको थिए, त्यतिबेलै मैले क्षमा मागेको पनि हो, अहिले पनि भन्छु मेरो त्यो गल्ती हो ।’

‘म नियमित अस्पताल आउने गरेकोछ, अस्पताल उपस्थित हुन नसक्ने अवस्थामा पत्र लेख्ने गरेछु’ डाक्टर नागले अगाडी थपे–‘अस्पताल विकास समितिले कारबाहीका लागि गरेको सिफारिसप्रति मेरो आपत्ती छ ।’

एकैपटक असार २९ गतेसम्म हाजिरी गरेका डाक्टर नागले अस्पताल प्रशासनले आफ्ना गल्ती ढाकछोप गर्न आफुलाई कारवाहीको सिफारिस गरेको आरोप लगाए ।

‘अस्पताल विकास समिति आफै अनियमितता र आर्थिक चलखेलमा डुवेको छ । समितिको व्यवस्थापन ठिक नभएकै कारण थुप्रै विशेषज्ञ चिकित्सकहरु अस्पतालमा बस्नै मान्नुहुन्न । अहिले आएर ममाथि कारवाहीको सिफारिस गर्नु समितिको नियत ठिक देखिएन’ डाक्टर नागले बताए ।

डाक्टर नागले अस्पताल विकास समिति नसुध्रिए आफुले अस्पतालबाट विदा लिने समेत चेतावनी दिए । ‘यही गतिमा अस्पताल व्यवस्थापन समिति चले काम गर्न सकिदैन । म पनि अस्पतालबाट विदा लिने मनसायमा पुगिसकेको छु ।’

डाक्टर नाग २०५९ साल भदौदेखि भेरी अस्पतालमा कार्यरत छन् । उनी १० औं तहका डाक्टर हुन् ।

भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको छ । यहाँका सबैजसो वरिष्ठ डाक्टरको कि त अस्पताल छ, अस्पताल नभएकाहरु क्लिनिकमा ड्यूटी गर्ने गर्छन् । भेरी अस्पतालको ड्युटी समयमा पनि प्रायः बसेको पाइँदैन ।