नेपालगन्जका सफल ब्यवसायीलाई सम्मान


नेपालगन्जका सफल ब्यवसायीलाई सम्मान

नेपालगन्ज २१ असार : नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ ।

मंगलबार नेपालगन्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो । उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वडा नम्बर–२० का वडा अध्यक्ष कौशलकुमार धोवीले सम्मान गरे ।

सो कार्यक्रममा नगर प्रमुख विष्टले साझेदारी विकास कार्यक्रम प्रभावकारी देखिएको भन्दै उपमहानगरको प्राथमिकतामा परेको बताए । उनले सानो लगानीबाट पनि राम्रो आम्दानी गर्न सकिने भएकाले उपमहानगरले यसलाई निरन्तरता दिने बताए ।

वडा नम्बर–२० का वडाअध्यक्ष धोवीले नागरिकताको भरमा नगरभित्र करिब चार करोड लगानी गरिएको भन्दै यो देशमै नमूनायोग्य काम भएको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले नेपालगन्जको २० वडामा हालसम्म यो कार्यक्रम सञ्चालन गरिएको भन्दै २० हजार देखि दुईलाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने गरिएको जानकारी दिए । उपमहानगरपालिकाले नियमित किस्ता र ब्याज बुझाउने, तोके अनुसारको ब्यवसाय सञ्चालन गर्ने ब्यवसायीलाई नगद ५ हजार सहित सम्मान गरेको हो ।