भेरीका संरचना हटाउन आनाकानी


भेरीका संरचना हटाउन आनाकानी

नेपालगन्ज २७ असार : भेरी अस्पतालको व्यवसायिक संरचना हटाउन बाटो खुलेपनि व्यवसायीले आफ्नो संरचना अझैं हटाएका छैनन् ।

भेरी अस्पताल विकास समितिले यही असार १३ गते तीन दिने अल्टिमेटम दिदैं उक्त स्थानमा रहेका व्यवसायीक संरचना हटाउन भनेको थियो । तर, समितिले दिएको तीन दिने समयवअवधि सकिएपनि व्यवसायीले आफ्ना संरचना पूर्णरुपमा हटाएका छैनन् ।

ब्यवसायीले आफ्ना संरचना नहटाउँदा यतिबेला समितिले निकालेको तीन दिने सूचनाले अस्पताल विकास समितिलाई समेत गिज्याइरहेकोछ ।

उक्त ब्यवसायीक भवनमा खाजा नास्ता पसल र किराना पसल अझैं सञ्चालनमा रहेकोछ । ब्यवसायीहरुको ढिलासुस्तीका कारण भेरी अस्पतालको स्तरवृद्धि गर्न समितिलाई हम्मे हम्मे परेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

अस्पतालले करिव ९ महिनाअघि जीर्ण संरचना हटाउन सुरु गरेको थियो । अस्पताल विकास समितिले जीर्ण संरचना हटाउन खोज्दा तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास समक्ष रिट निवेदन दर्ता भएपछि बीचमै रोकिएको थियो । जसका कारण अस्पतालले आधाभन्दा बढी संरचना भत्काइसकेको अवस्थामा बीचमा रोकिएपछि सबै योजना अलपत्र परेको थियो ।

विकास समितिले संरचना हटाउन खोज्दा अन्तरिम आदेश माग गर्दै रेडक्रस सोसाइटी बाँके शाखा र चिकित्सक संघ भेरी शाखा अदालत समक्ष पुगेका थिए ।

अदालतले हालै उक्त रिट निवेदनलाई खारेज गरिदिएपछि ब्यवसायिक संरचना हटाउने बाटो खुलेको हो । भेरीको स्तरवृद्धिका लागि खुलेको बाटोसंगै अस्पताल विकास समितिले उक्त व्यवसायिक भवनमा रहेका संरचना हटाउन तीन दिने सूचना जारी गरेको थियो ।

यसअघि पनि अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन मानेको थिएन । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल अदालतले रिट निवेदन खारेज गरेसँगै ब्यवसायिक संरचना हटाउन बाटो खुलेको बताए ।

रेडक्रस र चिकित्सक संघका ती ब्यवसायिक संरचनामा होटल तथा पसल सञ्चालनमा छन् । रेडक्रसको ब्यवसायिक भवनको पछाडी रक्तसञ्चार केन्द्रको अर्को भवन जोडिएको छ । ‘अदालतको आदेश आएसँगै चिकित्सक संघले सहज रुपमा आफ्नो संरचना हस्तान्तरण गरिसकेको छ, अब रेडक्रसले पनि सहज रुपमा हस्तान्तरण गर्नेमा हामीलाई विश्वास छ,’ धितालले भने ।

रेडक्रस बाँकेको नेतृत्वसँग पनि यस विषयमा छलफल चलेको उनले बताए । अस्पतालको जग्गामा निर्मित उक्त भवनलाई संघले हालै हस्तान्तरण गरेको थियो । चिकित्सक संघले नेपालगन्जको सुर्खेत रोडस्थित आफ्नो छुट्टै भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ । भेरी अस्पतालको जमिनमा दशकौं अघि चिकित्सक संघ र रेडक्रसको ब्यवसायिक संरचना बनाइएको थियो । अस्पतालको स्तरवृद्धि गर्ने क्रममा अहिले जीर्ण अवस्थामा रहेका ती भवन भत्काउन खोजिएको हो ।

तत्कालिन अस्पताल विकास समितिले रेडक्रस र चिकित्सक संघलाई उपयोग गर्न मात्र जग्गा दिएको थियो । ‘सकभर रेडक्रससँग पनि सहमतीमै अगाडी बढ्ने पक्षमा छौं, तोडफोड गरेर विवाद ल्याउने पक्षमा हामी छैनौं,’ समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले भने ।

सबै संरचना हटिसकेपछि अगाडी पट्टी पर्खाल लगाउने अस्पताल विकास समितिको तयारी छ । उनले भने, ‘चिकित्सक संघले सहमतीमा आएर आफ्नो संरचना हस्तान्तरण गरिसक्यो, रेडक्रसलाई हामीले कहिले सम्म कुरेर बस्नुपर्ने हो ?’ अस्पतालले रेडक्रसको रक्तसञ्चार केन्द्रको भवनलाई भने नचलाउने श्रेष्ठले सुनाए । अदालतले बाटो खोलिदिएपनि संरचना हटाउन आनाकानी गरेका छन् ।

रेडक्रस बाँकेले भने आफ्ना ब्यवसायिक संरचना भत्काउने हो भने बिरामीलाई अत्यावश्यक पर्ने रक्तसञ्चार सेवा नै बन्द हुने तर्क गर्दै आएको छ । रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले आफुहरु अस्पतालको विकास विरोधी नभएको बताए ।

‘हामी विकास विरोधी होइनौं, रेडक्रसलाई आयस्रोत आउने खालको केही दिनुपर्यो मात्रै भनेका छौं,’ उनले भने ‘उच्चले निवेदन खारेज गरिदिएपनि चित्त नबुझेको अवस्थामा माथी(सर्बोच्च) सम्म जाने ठाउँ बाँकी नै छ, तर हामी सकभर अब मुद्दा मामिला गर्ने पक्षमा छैनौं ।’

भेरी अस्पतालले ब्यवसायिक संरचना हटाउन खोजेपनि अस्पतालसँग कुनै नक्सा र योजना नभएको रेडक्रस सभापति सम्झनाको आरोप छ । रक्तसञ्चार सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म भौतिक संरचना भत्काउन कठिनाई हुने उनले दोहोर्याए ।