खजुरालाई समृद्ध बनाउन सामुहिक प्रतिबद्धता


खजुरालाई समृद्ध बनाउन सामुहिक प्रतिबद्धता

नेपालगन्ज २८ असार : खजुरा गाउँपालिकाको समग्र विकासका बिषयमा ६ बुदें साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरिएको छ ।

प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशको समन्वय, खजुरा गाउँपालिकाको आयोजना तथा बासको सहजिकरणमा खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका प्रतिबद्धताहरुमा खजुरा ग्रिन सिटिको अवधारणालाई अगाडी बढाउने, पालिकाभित्र रहेका भुमिहिन तथा सुकुम्बासीहरुलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अगाडी बढीसकेकोले सो कार्यलाई तिब्रता दिने, युवाहरुका लागि सीपमुलक तालिम सञ्चालन गरी व्यवासयिक अनुदानको व्यवस्थापन गरि स्वरोजगार बन्न अभिप्रेरित गर्ने, पालिका भित्र लागुऔषध दुब्र्यसनी बढेकोले लागु पदार्थ दुब्र्यसनी बिरुद्ध संयुक्त अभियान सञ्चालन गर्ने, कृषि कार्यलाई प्राथमिकिकरणमा राखि उत्पादनमुखि कार्यक्रमलाई बढावा दिने, भारतसँग सीमानाका जोडिएका स्थानहरुमा चोरी पैठारी नियन्त्रणका लागि पहल गर्ने, बजार अनुगमनलाई तिब्रता दिने, खजुरा गाँउपालिका वडा नम्बर २ लगायतका वडाहरुमा हाल बन्द अवस्थामा रहेका ट्युबेलहरुलाई पुनः सञ्चालनका लागि आवश्यक पहल गर्ने, पालिकामा खेलकुदको विकासका लागि खेलकुदमा युवा आकर्षण बढाउन आवश्यक योजना तयार गरी लागु गर्ने, गाउँपालिकाभित्र सञ्चालन हुने योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन गर्ने, सुशासन र पारदर्शीतामुखि कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ ।

यसरी गरिका प्रतिबद्धताहरुमा गाउँपालिकाअध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केसी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

बासका निर्देशक हेमराज भट्टले सहजिकरण गरेको सुनुवाईमा गाउँपालिकाले चालु आर्थिक वर्षमा प्राप्त गरेका मुख्य उपलब्धीहरु र आगामी योजनाका बारेमा गाउँपालिका अध्यक्षले जानकारी गराएका थिए । बासका केन्द्रिय उपाध्यक्ष शिवकुमार बर्माले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेको सुनुवाईमा नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतपत्रको नतिजा घोषणा बासका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गरेका थिए ।

खजुरा स्थित मिनिपार्कमा भएको सुनुवाईमा गाँउपालिका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नम्बर–१ का अध्यक्ष मनबिर क्षेत्री, वडा नम्बर २ का अध्यक्ष धनराम ओली क्षेत्री, ३ का अध्यक्ष पुर्णबहादुर रोका क्षेत्री, ४ का अध्यक्ष टेकबहादुर रोका क्षेत्री, ६ का अध्यक्ष फारुख शेष, ८ का अध्यक्ष फिरोज खान, कार्यपालिका सदस्यहरु कृष्णा कुमारी पोखरेल बिक, पार्बतीकुमारी बिश्वकर्मा, मैसरी पुन लगायतको उपस्थिती रहेको थियो । सुनुवाईमा २ सय बढी स्थानीयहरुको सहभागिता रहको थियो ।