कोरोनाबाट थप एक जनाको मृत्यु, बाँकेमा सक्रिय संक्रमित ३३ जना


कोरोनाबाट थप एक जनाको मृत्यु, बाँकेमा सक्रिय संक्रमित ३३ जना

शेर बहादुर रौले

नेपालगन्ज २ साउन : शून्य संक्रमित रहेको बाँकेमा पछिल्लो समय कोरोना संक्रमित बढ्न थालेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार पछिल्लो समय बाँकेमा ३३ जना सक्रिय संक्रमित रहेका छन् । जसमा २० जना महिला र १३ जना पुरुष रहेकाछन् ।

भारतबाट फर्किएका र जिल्ला भित्र रहेकामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोरोना संकट ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन तेज ओलीले बताए । उनले संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले होम आइसोलेशनमा बसेर स्वास्थ्य लाभ गरिरहेको बताए ।

‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । सवै संक्रमित होम आइसोलेशनमा हुनुहुन्छ । अहिले नै आत्तिनु पर्ने अवस्था छैन,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारका लागि कोहि पनि अस्पताल भर्ना नभएको उनले बताए । ‘पुष्टि भएका संक्रमितमा सामान्य रुघाखोकी, ज्वरो आउने लक्षण देखिएको छ,’ उनले भने ।

सोमबार भेरी अस्पतालमा ६ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको थियो । हालसम्म बाँकेमा एक लाख ३१ हजार ६३९ जनाको परीक्षण गरिएकोछ । भने जम्मा २१ हजार ११९ जनामा संक्रमण पुष्टि भएकोछ । संक्रमित मध्ये २० हजार ७३२ जना डिस्चार्ज हुँदा ३५४ जनाको मृत्यु भएकोछ ।

भारतबाट फर्किएका ६० जनामा कोरोना पुष्टि

असार महिनामा नेपालगन्जको जमुनहा नाकामा ६० जना कोरोना संक्रमित फेला परेका छन् । रोजगारी गरेर फर्किने तीन हजार ६ सय नेपालीको कोरोना जाँच गर्दा ६० जना नेपालीमा कोरोना पुष्टि भएको जमुनहास्थित हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरन्जिवी ज्ञवालीले जानकारी दिए ।

ति मध्ये ५१ जना पुरुष र ९ जना महिला रहेका छन् । कोरोना संक्रमण पुष्टि भएका मध्ये खोप नलगाएका ६ जना रहेको ज्ञवालीले बताए । उनले बुस्टर डोज लगाएका ६ जनामा पनि कोरोना पुष्टि भएको बताए । ‘कोरोना विरुद्धको बुष्टर डोज लगाएकामा समेत कोरोना संक्रमण पुष्टि भएको छ,’ उनले भने ।

पुष्टि भएका संक्रमितलाई सम्बन्धित जिल्लामा पठाउने गरिएको छ । उनले संक्रमितलाई सम्बन्धित पालिकाको जिम्मा लगाउने गरिएको बताए ।

यसैबीच, देशभर पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६५१ जनाको परीक्षण गरेकोमा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । यो पछिल्लो ५ महिनायताकै उच्च संक्रमण हो ।

जसमध्ये २ हजार ३४१ जनाको पीसीआर परीक्षण गर्दा ३८६ जना र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये एक हजार ७०१ जना होम आइसोलेसनमा रहेका छन् भने ७५ जना संस्थागत आइसोलेसन र ११ जना आईसीयूमा छन् । यस्तै १५ जनाको आईसीयू र एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

सोमबार थप एक जनाको मृत्युसँगै कोरोनाबाट ज्यान गुमाउने ११ हजार ९५४ जना पुगेका छन् । भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २२ हजार ७९३ पुगेको छ ।