नेपालगन्ज ३ साउन : बाँके प्रहरीले एक वर्षमा करिब ६ करोड रुपैयाँ बराबरका चोरी पैठारीका सामान बरामद गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले ५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा साढे २ करोडको अवैध मालसामान बरामद गरिएको थियो । भन्सार चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेका छन् ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरुको संख्या पनि अघिल्लो वर्ष भन्दा झण्डै दोब्बर रहको बताए ।
गत आर्थिक वर्षमा एक हजार ३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गतको आर्थिक वर्षमा बाँके प्रहरीले ४ किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता संख्या पनि अघिल्लो आर्थिक वर्ष भन्दा बढेको बाँके प्रहरी प्रमुख अधिकारीले बताए ।
२०७८/७९ मा ११५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको तथ्यांक बाँके प्रहरीमा छ ।
प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागूऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने संख्या दुबै केही घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकोमा गत वर्ष ११२ मुद्दा दर्ता भएका छन् । यस्तै अघिल्लो वर्ष १९६ जना पक्राउ परेकोमा यसपटक १८५ जना पक्राउ परे ।