नेपालगन्ज २ साउन : नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा लक्ष्यको ८८.५१ प्रतिशत मात्रै राजश्व असुली गरेको छ ।
सरकारले बैंकिग कारोवारमा कडाई लगाएत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजश्व भेटाउन नसकेको नेपालगन्ज भन्सारले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत नवकुल शर्माका अनुसार २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजश्व असुली गर्ने लक्ष्य राखेकोमा २२ अर्ब ३१ करोड २६ लाख अर्थात ८८.५ प्रतिशत मात्र असुली गरेको हो ।
यो असुली अघिल्लो आर्थिक वर्ष भन्दा १ अर्ब ८ करोड ७९ लाखले बढी भएपनि गत आर्थिक वर्षको लक्ष्य भन्दा २ अर्ब ९० करोडले घटी भएको उनको भनाई छ ।
भन्सार कार्यालयको प्रत्येक महिनाको राजश्व असुली लक्ष्य हेर्ने हो भने दुई महिनामात्रै लक्ष्यभन्दा बढी राजश्व असुली भएको छ । नेपालगन्ज राजश्व कार्यालयले २०७८ साउन महिनामा १३१.४८ र असोज महिनामा १०१.३० प्रतिशत लक्ष्य हासिल गरेको छ ।
त्यस्तै भदौ महिनामा ९३.६८, कात्तिक महिनामा ९०.६३, मंसिर महिनामा ९६.९८, पुस महिनामा ८४.०८, माघ महिनामा ७७.३०, फागुन महिनामा ८९.७४, चैत महिनामा ७९.१६, वैशाख महिनामा ७६.७६, जेठ महिनामा ७७.५४ र असार महिनामा ७८.१० प्रतिशत राजश्व असुली भएको छ ।
‘गत आर्थिक वर्षमा अघिल्लो बर्ष भन्दा राजश्व असुली बढी संकलन भएको छ’ उनले भने ‘लक्ष्य बढी भएकाले लक्ष्य अनुसार भने हामी पुग्न सकेनौ ।’
सरकारले बैंकिग कारोवारमा कडाई लगाएत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण भन्सारले राजश्व भेटाउन नसकेको भन्सार अधिकृत शर्माकोे भनाई छ ।