File Photo
नेपालगन्ज १० साउन : प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।
वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ ।
प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको उल्लेख गरेको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने बताएको छ ।
प्रतिबन्धित झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिएने चेतावनी विभागको छ ।
सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको थियो भने माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । जसअनुसार वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।
प्रतिबन्ध लगाइए पनि कोरोना महामारीलगायत कारणले प्रभावकारी अनुगमन हुन नसक्दा अहिले प्लाष्टिक झोलाको प्रयोग बढिरहेको विभागले जनाएको छ ।
सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।