नेपालगन्ज १० साउन : पश्चिम तराईका जिल्लामा सर्पदंशका बिरामी ह्वात्तै बढेका छन् । पश्चिम नेपालको रेफरल भेरी अस्पतालमा सर्पदंशका बिरामीको चाप बढेको छ ।
अस्पतालका एनेस्थेसियोलोजिष्ट डाक्टर पारस पाण्डेका अनुसार दैनिक १० देखि २० जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेका छन् । अधिकांश बिरामी रेफर भएर आउने गरेको उनले बताए ।
अस्पताल आएकामध्ये हप्तामा ५/७ जनालाई आइसीयू र भेन्टिलेरमा राखेर उपचार गर्नु पर्ने अवस्था रहेको उनको भनाई छ । बाँकेसहित बर्दिया, दाङ, सुर्खेत, कैलालीबाट बिरामी आउने गरेका छन् ।
जिल्ला बाहिरबाट आउने अधिकांश बिरामी गम्भीर प्रकृतिको हुने भएकाले उनीहरुलाई एन्टि स्नेक भेनमसहित आइसीयूको जरुरत पर्ने गरेको डाक्टर पाण्डेले बताए ।
वर्षात शुरु भएपछि भेरी अस्पतालमा उपचारका लागि आएकामध्ये २ जनाको मृत्यु भइसकेको रेकर्ड छ । यस्तै अस्पताल आउँदा–आउँदै बाटोमा ४ जना सर्पदंशका बिरामीको मृत्यु भएको छ ।