भेरी अस्पताल स्थापनाको १३२ वर्षमा प्रवेश


भेरी अस्पताल स्थापनाको १३२ वर्षमा प्रवेश

नेपालगन्ज १२ साउनः पश्चिम नेपालको रेफरल अस्पताल भेरी अस्पताल स्थापनाको आज १३२ वर्ष पुगेको छ ।

१३२ औं स्थापना दिवसका अवसरमा आज (विहीबार) भव्य कार्यक्रमको आयोजना गरी मनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष धितालले जानकारी दिदै अस्पताल स्थापनाको १३२ वर्ष पुगेपनि गत वर्षदेखि वार्षिकोत्सव मनाउन थालिएको हो । भेरीले औपचारिक रुपमा वार्षिकोत्सव मनाउन थालेको यो दोस्रो पटक हो ।

‘नयाँ सोँच–नयाँ खोज’ थीमका साथ मनाउन लागिएको वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दिउँसो एक बजे उद्घाटन गर्ने निश्चित भएको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

वार्षिकोत्सवको अवसरमा २५ वर्षदेखि सेवारत कर्मचारीलाई सम्मान गर्ने, ‘म भेरी अस्पतालको प्रमुख भए’ शीर्षकमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका उत्कृष्ट प्रतियोगी तथा अस्पतालले आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरष्कृत गर्ने कार्यक्रम समेत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर बद्री चापागाइँले बताए ।

अस्पतालको ईतिहास, हाल भैरहेका गतिविधिहरू र भावी कार्ययोजनालाई छलफल गर्दै सबैमा संस्थाप्रति अपनत्वको भावना विकास गर्न वार्षिकोत्वलाई चाडकै रुपमा मनाउन खोजिएको डाक्टर चापागाइँको भनाइ छ ।

अस्पतालका विविध आयाम, कर्मचारीहरूको योगदान, सामूहिकता, खेलकुद र साहित्यका पक्ष समेत समेटेर तयार पारिएको ‘अक्सिजन’ स्मारिकाको दोस्रो अंक समेत वार्षिकोत्सवमा विमोचन गर्ने कार्यक्रम रहेको छ ।