भेरी अस्पतालको १३२ औं स्थापना दिवस

‘बिरामीको मन जितेको भेरी अस्पताल’


‘बिरामीको मन जितेको भेरी अस्पताल’

File Photo

नेपालगन्ज ११ साउन : वि.सं. १९४७ सालमा राजधानीको वीर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल, नेपालगन्जले आफ्नो १३२ औं स्थापना दिवस मनाइरहँदा पश्चिम नेपालकै रिफरल अस्पतालको रुपमा विकास गर्न सफल भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा आम नागरिकको विश्वास जित्न सफल भएको अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईंका अनुसार कोभिड उपचारमा महत्वपूर्ण सेवा पश्चात बिरामीले भेरी अस्पतालमाथि विश्वास गरेका हुन् ।

‘१५० शैय्या स्वीकृत भएको भए पनि कोभिड समयमा भेरीमा एकै दिनमा तीन सयभन्दा बढी बिरामीको भर्ना गरेर उपचार गरिएको थियो । हाल दैनिक पाँच सय बिरामी उपचारका लागि अस्पतालमा पुग्ने गरेकाछन्’ अस्पतालका प्रमुख डाक्टर चापागाईले भने,‘कोभिड उपचारपछि अस्पतालप्रति आम नागरिकको विश्वास बढेको देखिन्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

सामान्यतया दैनिक तीन सय जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम रोकिएको र अस्पतालमा सेवा विस्तार भएपछि इमर्जेन्सीमा रात्रिकालीन समयमा समेत बिरामीको चाप हुने गरेको छ ।

भेरी अस्पतालले मेडिसिन, सर्जरी, प्रसूति, बालउपचार, नाक, कान, घाँटी, छाला, हड्डी, दाँत, मानसिकसहित न्यूरो उपचार सेवा प्रदान गर्दै आएको छ । भेरी अस्पतालले जनशक्ति अभाव भए पनि आम नागरिकलाई सेवा प्रदान गर्दै आएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

अस्पतालमा विशेषज्ञ चिकित्सकको अधिकांश दरबन्दी रिक्त छ । दरबन्दी पदपूर्तिको क्रममा रहेको अस्पतालका प्रमुख डाक्तर चापागाईले बताए । अस्पतालमा हाल चार वटा डाइलासिस मेसिन रहेकोमा एउटा बिग्रेको छ । तीन वटा मेसिनबाट दैनिक ९ जनाले सातैदिन डाइलासिस सेवा पाइरहेकाछन् । साउनदेखि थप ६ वटा मेसिन थप हुँदै छन् ।

यसैगरी यहाँ सञ्चालनमा रहेको सिटिस्क्यान मेसिन बिग्रन थालेपछि नयाँ मेसिन ल्याउन लागिएको छ । आगामी मङ्सिरसम्म थ्री टेस्लाको एमआरआई मेसिन जडान गर्ने तयारी भइरहेको छ ।

‘हाल १५० शैय्याको अस्पताल रहेकोमा तीन सय शैय्याको नयाँ ओपीडी भवन कात्तिकसम्म निर्माण सम्पन्न भएर हस्तान्तरण हुने क्रममा छ’, अस्पताल प्रमुख डाक्टर चापागाईंले भने,‘नयाँ भवन तयार भएपछि अस्पतालको सेवा सुविधा विस्तारमा थप सहजता हुनेछ ।’ अस्पतालमा आम नागरिकको मन जित्नु सकारात्मक भएको भन्दै डाक्टर चापागाईंको भनाइ छ ।