स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी : कोहलपुर नगरपालिकालाई वार्षिक एक करोड आर्थिक भार


स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी : कोहलपुर नगरपालिकालाई वार्षिक एक करोड आर्थिक भार

File Photo

कोहलपुर १५ साउनः स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी भएपछि बाँकेको कोहलपुर नगरपालिकालाई बार्षिक एक करोड आर्थिक भार हुने गरेको पाइएकोछ ।

कोहलपुर नगरपालिकामा नेपाल सरकारबाट स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी छन् । स्वास्थ्य सेवा अन्तर्गत स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी हुँदा नगरपालिकालाई तलब भत्ता खुवाउन समस्या उत्पन्न हुँदा आर्थिक भार पर्ने गरेको हो ।

ती कर्मचारीका लागि सरकारले ब्यवस्था नगरिदिदाँ आन्तरिक स्रोतबाट तलब, भत्ता खुवाउनै नसक्ने स्थितीमा कोहलपुर नगरपालिका पुगेकोछ ।

कतिपय दुर्गम क्षेत्रका कार्यालयमा कर्मचारी अभावले सेवा प्रवाह गर्न समस्या हुने गरेको छ । तर, सुगम ठाउँका रुपमा चिनिने कोहलपुरमा भने कर्मचारी भरिभराउ छन् । फाजिल कर्मचारी हुँदा कोहलपुर नगरपालिकालाई आर्थिक भार परेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर नगरपालिकामा स्वास्थ्य सेवा अन्तर्गतका २१ जनाको स्वीकृत दरबन्दी हुनुपर्नेमा करिव १८ जना बढी कर्मचारी कार्यरत छन् ।

स्वीकृत दरबन्दीभन्दा ‘फाजिल’ कर्मचारी हुँदा नगरपालिकाले वार्षिक एक करोड बराबर आर्थिक भार बहन गर्नुपर्ने अवस्था रहेको आचार्यले बताए । यी सबै स्थायी प्रकृतिका कर्मचारी हुन् । उनीहरु अधिकांश चौथो, पाँचौं र छैठौं तहका अहेब, हेल्थ असिस्टेन्ट (एचए) लगायत छन् ।

नगरप्रमुख आचार्यका अनुसार गत असारमा संघीय सरकारले उनीहरुलाई तलब भत्ता खुवाउन २५ लाख रुपैयाँ अपुग पठाएको थियो । तरपनि नगरपालिकाले अन्य शीर्षकको रकम जोहो गरेर उनीहरुलाई तलब भत्ता खुवाएको थियो ।

चालु आर्थिक वर्ष २०७९/८० मा भने स्वीकृत दरबन्दी भन्दाबढी रहेका ति कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन नसक्ने स्थितीमा पुगेको आचार्यले सुनाए ।

‘नगरपालिकाले उनीहरुलाई आन्तरिक स्रोतबाट तलब भत्ता खुवाउन सक्ने स्थिती नै छैन, यदी संघीय सरकारले नै तलब भत्ता दिन्छ भने हाम्रो कुनै आग्रह र पुर्वाग्रह छैन,’ आचार्यले भने । विगतको कार्यपालिकाले मनपरी रुपमा कर्मचारीलाई सरुवा अनुमति दिदाँ नगरपालिकाले आर्थिक ब्ययभार खेप्नु परेको जनप्रतिनिधी बताउँछन् ।

नगरपालिकाको यही साउन ११ गते बसेको कार्यपालिका(बोर्ड) बैठकले पनि फाजिल कर्मचारीलाई फिर्ता पठाउने निर्णय गरिसकेको छ ।

नेपाल सरकारबाट स्वीकृत दरबन्दी भन्दाबढी रहेका स्वास्थ्य सेवा अन्तर्गतका कर्मचारीलाई नगरपालिकाबाट तलब भत्ता उपलब्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीलाई अन्यत्र ब्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय नम्बर १० को ‘ङ’ मा उल्लेख छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल संस्थागत सुधार र सुशासन कायम गर्न तथा आर्थिक मितब्ययिता कायम गर्ने उद्देश्यले फाजिल कर्मचारीलाई फिर्ता पठाउने निर्णयमा पुगिएको बताउँछन् ।

‘उनीहरु जहाँबाट आएका हुन्, ती कार्यालयमा पक्कै पनि कर्मचारी संख्या रिक्त छ वा करारका कर्मचारी भर्ना भएका होलान्,’ ढकालले भने ‘कर्मचारी कतै भरिभराउ हुने, कतै रिक्त हुनु राम्रो होइन ।’

नगरप्रमुख आचार्यद्वारा गरिएको नगरपालिकामा रहेका ‘फाजिल’ कर्मचारी व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयमै पठाउने निर्णयको सर्वत्र चर्चामा रहेकोछ । कतिपयले नगरप्रमुखले गरेको निर्णय पूर्वाग्राही रहेको बताएका छन् भने अधिकांशले फाजिल कर्मचारी व्यवस्थापनका लागि अनुसरणीय निर्णय गरेको भन्दै प्रशंसा समेत गरेकाछन् ।