नेपालगन्ज २३ साउन : बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा अदालतको आदेश अनुसार नै बाल पार्क (चिल्ड्रेन पार्क) निर्माणको कार्य अघि बढाइएको नेपालगन्ज उपमहानगरपालिकाले दावि गरेकोछ ।
बाल पार्क निर्माणको कार्य सुरु भएसंगै विभिन्न अड्कलबाजी र टिप्पणी हुन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले यस्तो दावि गरेको हो ।
नगर प्रमुख प्रशान्त विष्टले अदालतको आदेश अनुसार बाल पार्क निर्माणसँगै अन्य संरचनाको निर्माण कार्य अघि बढाइएको बताउँदै यसमा दुविधामा नपर्न आग्रह समेत गरेका छन् ।
‘बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्दै बालपार्क निर्माण सुरु भएको छ’ उनले भने ‘यो कार्य अदालतको आदेश अनुसारनै अघि बढाइएको हो ।’
बागेश्वरी मन्दिरको पूर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।
आईतबार नगरप्रमुख विष्टले शिलान्यास गरेको ५ कठ्ठा ९ धुर जमिनमा बाल पार्क निर्माण हुने छ । यसैगरी बाँकी रहेको ४ कठ्ठा ३ धुर जग्गामा पार्किंग र शाकाहारी भोजनालय(रेष्टुरेण्ट)को काम अघि बढाइने भएको छ ।
नगरप्रमुख विष्टले यहाँ निर्माण गर्न लागिएको भोजनालय ब्यावसायिक प्रयोजन भन्दा पनि भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै निर्माण गर्न लागिएको बताए ।
बागेश्वरी मन्दिर परिसरमा आउने भक्तजनको सेवा सुविधालाई मध्यनजर गर्दै बाल पार्क निर्माणपछि बाँकी रहेको जग्गामा शाकाहारी भोजनालय, सटर र पार्किंगस्थल निर्माण गरिनेछ ।
थप समाचार
बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु