बाँकेमा ७३ जना सक्रिय संक्रमित


बाँकेमा ७३ जना सक्रिय संक्रमित

नेपालगन्ज २५ साउन : बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधवार भेरी अस्पतालको पीसिआर ल्यावमा १९ जनाको स्वाब परीक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये आठ जना बाँकेका भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रले जनाएको छ । मंगलवार २५ जनामा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी राप्तिसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा एक जनामा पनि कोरोना पुष्टि भएको छ । पुष्टि भएका संक्रमित मध्ये चार महिला र पाँच पुरुष रहेको केन्द्रले जनाएको छ ।

उता, भारतबाट आउँदै गरेकाहरुको जमुनाहस्थित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा चार जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरु दाङ, सुर्खेत, सल्यान र दैलेखका रहेको हेल्थ डेस्कका ल्याव टेक्निसियन चिरञ्जिवी ज्ञवालीले जानकारी दिए ।

बुधवार एक जना डिस्चार्ज भएसँगै बाँकेमा ७३ जना सक्रिय संक्रमित रहेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए । सबै संक्रमित आ–आफ्नो घरमा बसेर स्वास्थ्य लाभ गरिरहेको पनि उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

यता बाँकेमा कोरोना संक्रमित बढ्दै गएपछि भेरी अस्पताल नेपालगन्जले स्टाफ नर्स थप्ने तयारी गरेको छ । अस्पतालले विगतमा काम गरेका आठ जना स्टाफ नर्सलाई काममा लगाउने तयारी गरेको हो ।

कोरोनाको पहिलो र दोस्रो लहरमा करारमा कर्मचारी थपिएको थियो । उनीहरुमध्येबाट आठ जनालाई फेरि कोभिड वार्डमा परिचालन गर्ने निर्णय गरिएको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा देशभर थप ८६८ जनामा संक्रमण पुष्टि भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । भने कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये ५ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ ।

यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११देखि २० वर्ष उमेर समूहका ३० जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।