फोहर व्यवस्थापनमा सचेतना बढाउन विशेष अभियान


फोहर व्यवस्थापनमा सचेतना बढाउन विशेष अभियान

नेपालगन्ज २६ साउन: वातावरण लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको भेरी वातावरणीय विशिष्टता समुह(बीग्रुप) ले फोहर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने उद्देश्यले विशेष अभियान सञ्चालन गर्न लागेकोछ ।

फोहर व्यवस्थापनमा आम नागरिकको सचेतना बढाउने तथा जनचासोको दायरालाई फराकिलो पार्ने उद्देश्यका साथ ‘कम प्रयोग, पुनः प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान सञ्चालन गर्न लागिएको बीग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले जानकारी दिए ।

अभियानबारे जानकारी दिन बिहीबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलमा सो बारे जानकारी गराउँदै संस्थाका कार्यकारी निर्देशक सुनारले फोहर व्यवस्थापनमा प्रत्यक्ष संलग्न हुने सरसफाईकर्मीहरुको व्यक्तिगत तथा सामुहिक क्षमता अभिबृद्धिका लागि सहजिकरण गरिरहेको बताए ।

सो का लागि संस्थाले विश्वका चिकित्सकहरु(एमडीएम) नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थासँग साझेदारी गरेर बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा र खजुरा गाउँपालिकामा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग कार्यक्रम गरिरहेको कार्यकारी निर्देशक सुनारले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सोही कार्यक्रम अन्तर्गत आम नागरिकमा सचेतना बढाउन आगामी साउन २९ गते नेपालगन्जमा विभिन्न क्षेत्रका ३ सय जना सरोकारवालाहरुको सहभागितामा प्रभात फेरी, सडक नाटक, स्टल प्रदर्शनीसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रभातफेरी र अन्तरक्रियामा सरसफाईकर्मी, नागरिक समाज, पत्रकरा, राजनितिज्ञ, जनप्रतिनिधि र स्थानीय सरकारका प्रमुख लगायतको सहभागिता रहने बताइएको छ ।

नेपालगन्जको धम्बोझी चोकबाट शुरु हुने प्रभात फेरीले सचेतना बढाउने विभिन्न सामाग्रीसहित नगरपरिक्रमा गरेर भेरी प्राविधिक शिक्षालयमा पुग्ने र सोही स्थानमा प्रर्दशनी लगायत अन्तरक्रियाको आयोजना गरिने परियोजना संयोजक इन्द्रजीत सुनारले जानकारी दिए । उनले सो क्रममा प्रेस वक्तव्य समेत पत्रकारलाई सुनाएका थिए ।

सो अवसरमा पत्रकारहरुको जिज्ञासा मेटाउँदै एमडीएम फ्रान्सका कार्यक्रम प्रबन्धक बसन्त थापाले परियोजनाको पृष्ठभूमिसहित समग्र जानकारी गराएका थिए । उनले समग्रमा फोहर ब्यवस्थापनको अवस्था र सरसफाईकर्मी तथा विषादी प्रयोग गर्ने किसानको अवस्था बारे समेत जानकारी गराएका थिए ।

पत्रकार सम्मेलनमा एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्की, पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकी लगायतले कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।