बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो


बाँके क्षेत्र नम्बर– २ मा काँग्रेस बलियो

नेपालगन्ज २७ साउन : आगामी मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव तोकिएसँगै बाँकेमा चुनावी सरगर्मी तातेको छ । निर्वाचन घोषणा भएसँगै बाँकेमा उम्मेदवारको चर्चा सुरु भएको छ । उम्मेदवारका आकाक्षींले टिकटको लबिङदेखि निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रमलाई तीव्रता दिएका छन् ।

प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचन मिति घोषणा भएसँगै भावी उम्मेदवारबारे बाँकेमा चर्चा सुरु हुन थालेको हो । बाँकेको क्षेत्र १, २ र ३ मा दलहरुका तर्फबाट र स्वतन्त्रबाट कस्ता उम्मेदवार मैदानमा आउँलान् ? भन्नेबारे आम रुपमा चासो बढ्न थालेकोछ ।

बाँके क्षेत्र नम्बर–२ पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोईराला चुनाव लड्दै आएको क्षेत्र हो । उक्त क्षेत्रमा जुन सुकै दलले अगाडी सार्ने उम्मेदवारका विषयमा बढी चासो हुने गर्छ ।

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि सत्तारुढ दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल गर्ने सहमती भइसकेको छ । पाँच दलिय गठबन्धन हुने निश्चित भएपछि बाँकेको क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारका विषयमा विभिन्न चासो र अड्कलबाजी सुरु हुन थालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यही चुनावी सरगर्मीकाबीच बाँकेको क्षेत्र नम्बर–२ मा सबैभन्दा पहिलो दलका रुपमा नेपाली काँग्रेस देखिएको छ । गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा सबैभन्दा पहिलो स्थानमा काँग्रेस देखिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर–३ मा पर्छन् । क्षेत्र नम्बर–२ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३/३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र काँग्रेसले एउटा वडा जितेको थियो ।

उक्त निर्वाचनमा क्षेत्र नम्बर–२ अन्तरगत पर्ने नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा रहेका वडाअध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत परिणाम हेर्दा काँग्रेसको अग्रता रहेको देखिन्छ । उक्त निर्वाचनमा सबै दलबाट वडाअध्यक्षका उम्मेदवारहरु एक्ला एक्लै प्रतिस्पर्धा गरेका थिए ।

स्थानीय तहको मत परिणाम अनुसार सबैभन्दा पहिलो काँग्रेस, दोस्रोमा एमाले, तेस्रोमा जनता समाजवादी पार्टी(जसपा), त्यसपछि राप्रपा, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) देखिएको छ ।

मत परिणाम अनुसार क्षेत्र नम्बर–२ मा सबैभन्दा बढी काँग्रेसले १८ हजार ३७, एमालेले १५ हजार ४ सय ७८, जसपाले १३ हजार ८ सय ९, राप्रपाले ८ हजार ४ सय ९४, माओवादी केन्द्रले ६ हजार ८ सय ५९, नेकपा एकिकृत समाजवादीले ८ सय २१ र लोसपाले ५ सय ६४ मत प्राप्त गरेको छ ।

उक्त क्षेत्रमा २०७० सालसम्म पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्वसभापति सुशिल कोइराला चुनाव लड्ने गरेका थिए । कोइरालाको निधन पछि २०७४ को निर्वाचनमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद चुनाव लडेपनि पराजित भएका थिए ।

यस्तै बामगठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर पशुपति दयाल मिश्र चुनाव लडेका थिए, भने संघीय समाजवादी पार्टीका तर्फबाट एक्लै चुनाव लडेर मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको सांसदमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी (जसपा) का नेता समेत रहेका राई वर्तमान सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् ।

आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा दलहरु एक्लै लड्ने हो र सोही मत परिणाम अनुसार मतदाताले मतदान गरेको खण्डमा काँग्रेस फेरीपनि पहिलो हुने अनुमान गरिएको छ । तर, मतदाताले आफ्नो मन बदलेर फरक तरिकाले मतदान गरेको खण्डमा आउने मत परिणाम भने एकिन गर्न नसकिने विश्लेषण गरिएको छ ।

निर्वाचनमा दलहरु एक्ला एक्लै लड्ने हुन् या मिलेर लड्ने हुन् ? अझैं एकिन भईसकेको छैन । यद्यपी, सत्तारुढ पाँच दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने सहमती भइसकेको छ ।

थप समाचार

बाँके क्षेत्र नम्बर–१ मा गठबन्धनको चेपुवामा काँग्रेस

बाँकेमा बढ्यो चुनावी सरगर्मी, टिकटका लागि ‘गठबन्धन बाधक’