नेपालगन्ज :बाँकेको मनिकापुर स्वास्थ्य चौकीमा साउन यता एक सय सात जना महिला सुत्केरी भएका छन् । तथ्याकंअनुसार साउनमा २०, भदौमा १६, असोजमा २१, कात्तिकमा २०, मंसीरमा १५ र पुस २९ गतेसम्ममा १५ जना सुत्केरी भएका छन् ।
यहाँ मनिकापुर र आसपासका गर्भवती महिलाहरु सुत्केरी हुनका लागि आउने गरेको चौकीका अनमी आशा सार्की बताउँछिन् । पहिला यही आउँछन् । यदि यहाँ सुत्केरी गराउँन वा हुन नसक्ने अवस्था भए रिफर गरिन्छ अनि मात्रै अन्यत्र जाने गरेका छन् उनले भनिन् ‘धेरैजसा यहि सुत्केरी भईरहेका छन् ।’ सुत्केरी हुन आउनेको चाप बढेको छ उनले भनिन् ‘चाप बढेसँगै बेडको समस्या उत्तकै छ ।’
आईतबार मात्रै उक्त चौकी सहयोगमा पाएको दुईवटा बेडको भरमा चलिरहेको थियो । सुत्केरी गराउँन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताइन् । ‘कुनै दिन त बुकी र लडियाको लाइन लाग्छ,’ अनमी सार्कीले भनिन् ।
आफूकहाँ सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको स्वास्थ्य चौकीका ईन्चार्ज सरोजकुमार मिश्रले बताए । ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ,’ ईन्चार्ज मिश्रले भने, ‘सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।’नेपालगन्ज उपमहानगरपालिकाभित्र धेरै ठूला र सुविधायुक्त अस्पताल छन् । तर, मनिकापुर स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाको संख्यामा कमी देखिएको छैन उपमहानगरपालिका वडा २० का वडाध्यक्ष कृष्ण कार्कीले भने ‘यहाँ बेड मात्रै होईन विजुलीको समेत समस्या रहेको छ ।’
वडाध्यक्ष कृष्ण कार्कीले यहाँ सुत्केरी चाप बढी रहेकोले केही समयभित्रै अहिले अभाव रहेका सबै चीजको व्यवस्थापनमा वडापालिका र स्वास्थ्य चौकी लागि परेको बताएका छन् । अध्यक्ष कार्की विजुलीको समस्या समाधानका लागि इन्भर्टर वा सोलार राख्ने भन्नेमा जिआइजेडसँग छलफल भइरहेको र छिट्टै त्यसको व्यवस्थापन हुने बताउँछन् । वडाध्यक्ष कार्कीका अनुसार यहाँ बेडको अभाव सुनेपछि काठमाडौं कुलेश्वर निवासी कमलादेवी सिंह र पजुमा सिंहले चौकीलाई दुई वटा बेड सहयोग गरेका छन् । अहिले यसैबाट काम चलिरहेको छ ।