आजबाट प्लाष्टिकको झोला प्रतिबन्ध, अटेरी गरे कारबाही


आजबाट प्लाष्टिकको झोला प्रतिबन्ध, अटेरी गरे कारबाही

नेपालगन्ज १ भदौ : प्लाष्टिकको झोला उत्पादन र प्रयोग नियन्त्रण गर्न सरकारले कडाइ गर्ने भएको छ ।

वातावरण विभागले गत भदौ १० गते एक सूचना प्रकाशित गरी भदौ १ गते(आज)बाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको हो ।

प्रतिबन्ध लगाएको एक वर्ष पुग्न लाग्दा पनि नियन्त्रणमा नआएको भन्दै वातावरण विभागले आयात, उत्पादन, बिक्री र प्रयोगमा कडाइ गर्न लागिएको उल्लेख गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गर्दै नियन्त्रणका लागि कडाइका साथ अनुगमन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने बताएको थियो । प्रतिबन्धित झोला प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन र नियमावली अनुसार कारबाही गरिएने चेतावनी विभागको छ ।

Kids Festival 2022
kanti aarogya hospital

सरकारले २०७८ असोज १९ गते प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएको थियो भने माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा आएको थियो । जसअनुसार वातावरणमा प्रतिकूल असर गर्ने ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गर्न पाइँदैन ।

प्रतिबन्ध लगाइए पनि कोरोना महामारीलगायत कारणले प्रभावकारी अनुगमन हुन नसक्दा अहिले प्लाष्टिक झोलाको प्रयोग बढिरहेको विभागले जनाएको छ । सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ । यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।