नेपालगन्ज ६ भदौ : लुम्बिनी प्रदेशमा दीगो पर्यटन विकासका सम्भावनाबारे नेपालगन्जमा छलफल भएको छ । पर्यटन विकास परिषद बुटवलको आयोजना तथा नाटा बाँके च्याप्टरको सहआयोजनामा यस क्षेत्रका सरोकारवालाबीच सोमबार छलफल गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा पर्यटनको सम्भावना धेरै रहेको बताए । लुम्बिनी प्रदेशको पर्यटन सम्बन्धी कानूनलाई निजी क्षेत्रको अनुकुल बनाइने उनले प्रतिवद्धता ब्यक्त गरे ।
हरेक क्षेत्र पर्यटन क्षेत्र नहुने भन्दै मन्त्री चौधरीले ब्यवसायीलाई मर्का पर्ने कुनैपनि कानून लुम्बिनी प्रदेशले नल्याउने बताए ।
पर्यटन ब्यवसाय नेपालको भविष्यसंग जोडिएकाले यसको प्रर्बद्धन र सम्भाव्यता विकासका लागि सरकार सदैव दत्तचित्त भएर लाग्ने भन्दै प्रदेश सरकारले दाङ, बाँके र बर्दियालाई थारु सँस्कृती र पहाडी क्षेत्रका जिल्लामा मगरको सँस्कृतीसँग जोडेर पर्यटन प्रर्वद्धन गर्ने नीति लिएको बताए ।
यस्तै नेपाल पर्यटन बोर्डका सिईयो डाक्टर धनन्जय रेग्मीले आफु पर्यटन क्षेत्रका लागि केही काम गर्नका लागि जिम्मेवारीमा आएको बताए ।
‘नेपालको पर्यटन प्रर्बद्धनमा नीतिगत समस्या ठूलो छ । राज्यको भन्दा पनि निजी लगानी र साथले नेपालमा पर्यटन प्रबद्र्धन भएकाछन्’–बोर्डका सिइयो डाक्टर रेग्मीले भने–‘सरकारले पोलेसी मेकिङ्गमा सहजता ल्याउनुपर्छ ।’
लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले लुम्बिनी प्रदेशमा दीगो पर्यटन विकासका सम्भावनाहरु विषयक गोष्ठिको बारेमा चर्चा गरेका थिए ।
सो क्रममा उनले लुम्बिनी प्रदेश सरकारले पर्यटन प्रर्बद्धन, पर्यटन बजार लक्षित कार्यक्रम, अध्ययन तथा अनुसन्धान, क्षमता विकास कार्यक्रम र पर्यटन सूचना केन्द्रका विषयमा कार्यक्रम गरिरहेको जानकारी दिए ।
सो क्रममा बोल्ने सरोकारवालाले लुम्बिनी प्रदेश र बाँके जिल्लामा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका थिए । जिल्लामा रहेको प्रमुख पर्यटकीय गन्तब्यहरुको पहिचान र प्रर्बद्धन, पर्यटकीय सेवा र सुविधाको गुणस्तर बृद्धि, पर्यटन पूर्वाधारको विकास र निजी क्षेत्रको लगानी बृद्धि भएमा समग्र प्रदेशको पर्यटन विकास गर्न सकिनेमा उनीहरुले जोड दिएका थिए ।
नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले स्वागत गरेको उक्त कार्यक्रममा नाटाका केन्द्रिय निर्वतमान अध्यक्ष अच्युत गुरागाईँ, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान नगर प्रमुख डाक्टर धवलसम्शेर राणा, नाटा सुदूरपश्चिम अध्यक्ष मायाप्रसाद भट्ट, नाटा लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्थ, होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली, होमस्टे एशोसियशनका उपाध्यक्ष कृष्ण चौधरी, बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, पत्रकार विजय बर्मा, शंकरप्रसाद खनाल लगायतले आ–आफ्नो सुझाव तथा धारणा राखेका थिए ।